समग्र कर्मचारीतन्त्रको कार्य सन्तोषजनक छैन : माधव नेपाल
राष्ट्रिय हित सुरक्षा विभागले ‘राष्ट्रिय हित र सुरक्षा’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित उक्त कार्यक्रम पार्टीको अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दुई विशाल छिमेकी मुलुकबीच रहेको नेपालले कुशल कुटनीतिको माध्यमबाट राष्ट्रिय हित प्रवर्द गर्नसक्ने बताउनुभयो । नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्न खोज्दा त्यसको परिणाम प्रतिउत्पादक हुने विषयमा सचेत गराउँदै उहाँले भन्नुभयो, ‘देशभित्रका कर्मचारी र परराष्ट्र मन्त्रालयका कर्मचारीतन्त्रका काम–क्रियाकलाप सन्तोषजनक छैनन् ।’
उहाँले आफू मन्त्री र प्रधानमन्त्रीको हैसियतले भारत भ्रमणमा जाँदा भारतीय समकक्षी तथा त्यहाँका कर्मचारीतन्त्रमा नेपाललाई गलाउने नीति रहेको स्मरण गर्नुभयो । पार्टीका केन्द्रीय उपाध्यक्ष प्रमेश हमालले युवालाई विदेश पठाएर मुलुकको विकास सम्भव नहुने धारणा राख्नुभयो । ५० लाख नेपालीले पठाएको विप्रेषणले मुलुक धान्नु भविष्यका लागि शुभ संकेत नभएको उहाँको भनाई छ ।
‘कुनै समय चामल निर्यात गर्ने मुुलुक आज चामल आयात गर्नुपर्ने अवस्थामा पुगेको छ । देशमा खेतीयोग्य जमिन बाँझो भएका कारण कृषि उत्पादनमा ह्रास आएको छ । हाम्रो सरकारले असंलग्न परराष्ट्र नीतिलाई अपनाउनुपर्छ । कुनैपनि शक्ति राष्ट्रको सैनिक समूहमा सामेल हुनुहुँदैन,’ उहाँले भन्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा विभागका सदस्यद्वय चन्द्र केसी, मनोजकुमार चौधरी, पार्टीनिकट नेपाल वुद्धिजीवी परिषद्का केन्द्रीय उपाध्यक्ष डा.झोकेन्द्र थापा, सचिव भोला गुरागाई, हिमलाल पुरी, दलितमुक्ति संगठनका केन्द्रीय उपाध्यक्ष एवम् पार्टी केन्द्रीय कमिटी सदस्य श्रीप्रसाद पासवानलगायत नेताहरुको उपस्थिति थियो ।
विभागीय प्रमुख पुष्पाकुमारी कर्णको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको बताइएको छ ।
टिप्पणीहरू