आयोग गठनबारे एमालेसँग बस्नुअघि सत्तापक्षको छुट्टै छलफल

आयोग गठनबारे एमालेसँग बस्नुअघि सत्तापक्षको छुट्टै छलफल

सुन तस्करी छानबिनका लागि उच्चस्तरीय आयोग गठनका सम्बन्धमा प्रमुख प्रतिपक्षी नेकपा एमालेको नयाँ शर्तबारे सत्तापक्षका नेताहरुले छलफल गरेका छन् । 

आज बिहान  सिंहदरबारस्थित रक्षा मन्त्रालयमा कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको अध्यक्षतामा छलफल भएको हो । छलफलमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखक, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलगायतको उपस्थिति रहेको थियो ।

यसअघि शुक्रबार सत्ता र प्रतिपक्षी एमालेका नेताहरुले आयोग गठनबारे छलफल गरेका थिए । तर, भेपमार्फत भएको सुन तस्करीका सम्बन्धमा पनि अनुसन्धान गर्न सक्नेगरी कार्यादेश तोक्नुपर्ने एमालेको अडानमा सत्तापक्ष सहमत नभएपछि आयोग गठन रोकिएको थियो । एमालेको सोही मागबारे समान धारणा बनाउन सत्तापक्षीय नेताहरुले आज बिहानै छलफल गरेका हुन् । 

गत साउन ३ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको ६१ किलो सुन सिनामंगलबाट बरामद बहेको थियो । उक्त प्रकरणमा उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको संलग्नता रहेको आरोप लगाएको एमालेले उच्चस्तरीय छानविन आयोगको माग गर्दै लामो समय सदन अवरुद्ध पारेपछि संसदमा रहेका सात दलबीच आयोग गठन गर्ने सहमति भएको थियो । 

सिआइबीले अनुसन्धान टुंगोमा पुर्याएपछि असोज ५ गते आयोग गठन गर्ने सहमति थियो । तर, एमालेले कार्यादेशलाई लिएर नयाँ शर्त अघि सारेपछि आयोग गठन हुन सकेको छैन ।
 

टिप्पणीहरू