फरार तीन अभियुक्तलाई समातेर प्रहरीले अदालतमा बुझायो

फरार तीन अभियुक्तलाई समातेर प्रहरीले अदालतमा बुझायो

विभिन्न कसूरमा दोषी ठहर भई फरार रहेका तीन जना अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय, उदयपुरले पक्राउ गरेको छ । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १२ का ४५ वर्षीय कृष्णदेव बडही शर्मा, २६ वर्षीय रबिन मगर र सुनसरीको ईनरुवा नगरपालिका वडा नम्बर २ का ५५ वर्षीय ईनरलाल मेहतालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

चेक बाउन्सको मुद्दामा उदयपुर जिल्ला अदालतबाट एक वर्ष कैद र सात लाख रुपैयाँ जरिवाना तोकिएका कृष्णदेव फरार थिए । उनलाई गोप्य सूचनाको आधारमा सिरहाको ठाँडीमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको उदयपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) हरिनन्दन चौधरीले बताए । 

अदालतले चोरी मुद्दामा ईनरलाललाई ५० हजार रुपैयाँ जरिवाना सुनाएको थियो । त्यसपछि उनी भागेका थिए । सार्वजनिक कसूर मुद्दामा एक हजार रुपैयाँ जरिवाना गरिएका रबिनले जरिवाना तिर्न अटेर गर्दै आएका थिए । प्रहरीले उनलाई बरुवा बसपार्कमा फेला पारेको हो । तीनै जनालाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालत बुझाइएको डिएसपी चौधरीले बताए ।

टिप्पणीहरू