विदेश पठाइदिने प्रलोभनमा लाखौं ठग्ने क्रम जारी

विदेश पठाइदिने प्रलोभनमा लाखौं ठग्ने क्रम जारी

वैदेशिक रोजगारीमा दुबई र पोल्याण्ड पठाइदिने प्रलोभनमा ठग्दै आएका दुई जना पक्राउ परेका छन् । आकर्षक तलबको प्रलोभन देखाउँदै सर्वसाधारणलाई ठगेका मोहमद शेख इरफान सिद्धिकी र रविन्द्र अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई पक्रेको जनाइएको छ । रौतहट घर भई हाल काठमाडौंको नागार्जुन बस्दै आएका ३४ वर्षीय मोहमदले वैदेशिक रोजगारीमा दुबई पठाइदिने र त्यहाँ पुगेपछि सेक्युरिटी गार्डमा काम लगाइदिने प्रलोभनमा ठगेको खुल्न आएको छ । 

दुबईको निम्ति प्रतिव्यक्ति साढे दुई लाख लाग्ने र मासिक ५० हजारभन्दा बढी तलब हुने आश्वासनमा पीडितबाट पटक पटक गरी डेढ लाख रुपैयाँ लिएपछि उनी सम्पर्कविहीन भएका थिए । 

यस्तै, चितवन घर भई हाल काठमाडौंको बसुन्धरा बस्दै आएका ४२ वर्षीय रविन्द्रले पनि वैदेशिक रोजगारीमा पोल्याण्ड पठाइदिने र त्यहाँ पुगेपछि प्रतिष्ठित फुड प्याकिङमा काम लगाइदिने प्रलोभनमा ठगेको पाइएको छ । 

पोल्याण्ड जान प्रतिव्यक्ति १२ लाख लाग्ने र मासिक एक लाखभन्दा बढीको तलब हुने प्रलोभनमा पीडितहरुबाट पटक पटक गरेर २७ लाख २५ हजार रुपैयाँ उठाएपछि उनी पनि फरार भएका थिए ।

पीडितहरुले वैदेशिक रोजगार विभाग गुहारेपछि प्रहरीले खोजतलास अघि बढाउँदा उनीहरु पक्राउ परेका हुन् । उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको निम्ति विभाग पठाइएको छ ।

टिप्पणीहरू