चिताबाट युवतीको शव बरामद, प्रहरी घाटमा पुगेपछि मलामीको भागाभाग

चिताबाट युवतीको शव बरामद, प्रहरी घाटमा पुगेपछि मलामीको भागाभाग

सर्लाहीमा जलाउन लागिएको एक युवतीको शव प्रहरीले चिताबाट नियन्त्रणमा लिएको छ । रामनगर गाउँपालिका–१ खैर्वाकी २१ वर्षीया मनिषा साहको शव चिताबाट नियन्त्रणमा लिँदै प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । 

हिजो दिउँसो मनुषमारा घाटमा जलाउने तयारी गरिएको अवस्थामा मनिषाको शवलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनको मृत्यु शंकास्पद देखिएपछि शव बरामद गर्दै मनिषाका श्रीमान सुनिल साह, ससुरा रामेश्वर र देवर रामबाबुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

घाटमै प्रहरी पुगेपछि मलामीको भागाभाग भएको थियो । मृतकका परिवारका तीनजनालाई घाटबाटै नियन्त्रणमा लिएर अनुुसन्धान गरिएको प्रहरीको भनाइ छ । 

परिवारका सदस्यले छारे रोगबाट पीडित मनिषाले आत्महत्या गरेको दाबी गरेका छन् भने प्रहरीले शंकास्पद ठानेर शव बरामद गर्दै परिवारका सदस्यलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको हो । संकलित प्रमाणको आधारमा घटनाको अनुसन्धान र शवको पोष्टमार्टमको रिपोर्टपछि सबै थाहा हुने प्रहरीले भनेको छ । 

 युवतीको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवाको शव गृहमा राखिएको छ ।
 

टिप्पणीहरू