मेनपावरका मालिकमाथि आधा करोड ठगीको बात

मेनपावरका मालिकमाथि आधा करोड ठगीको बात

जापानमा आकर्षक रोजगारी दिलाउने लोभ देखाएर लाखौँ ठगेको आरोपसहित एकजना मेनपावर व्यवसायी प्रहरीको फन्दामा परेका छन् ।

जेनुइन प्लेसमेन्ट प्रालिका सञ्चालक डिल्लीराम खतिवडालाई प्रहरीले ठगीको अभियोगमा समातेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई कोटेश्वरबाट पक्राउ गरी वैदेशिक रोजगार विभागको जिम्मा लगाएको छ । 

मोरङ्गको लेटाङ नगरपालिका-२, घर भई हाल काठमाडौंको धुम्बाराहीस्थित विष्णु गल्ली बस्दै आएका ५० वर्षीय खतिवडाले वैदेशिक रोजगारीमा जापान पठाइदिने र त्यहाँ पुगेपछि प्रतिष्ठित कम्पनीमा जागिर लगाइदिने झूठो वाचा गरेर रकम ठगेको प्रहरीले बताएको छ ।  

उनले जापान जान प्रतिव्यक्ति आठ लाख लाग्ने र मासिक एक लाख ८० हजारभन्दा बढी तलव हुने आश्वासनमा १२ जना पीडितहरुबाट पटक-पटक गरी ४६ लाख रुपैयाँ उठाएको अनुसन्धानबाट खुलेको छ । पैसा उठाएर भागेका उनीविरुध्द पीडितहरुले वैदेशिक रोजगार विभागमा उजुरी हालेका थिए । 

विभागकै अनुरोधमा प्रहरीले खतिवडाको व्यापक खोजी गरेकोमा उनी अस्ति कोटेश्वरमा फेला परेको बताइएको छ ।

टिप्पणीहरू