क्याम्पसका विभागीय प्रमुखहरुको जिम्मेवारी स्ववियुलाई
पुल्चोक इन्जिनियरिङ क्याम्पसका छ विभागीय प्रमुखले आफुले सम्हाल्दै आएको जिम्मेवारी स्वतन्त्र विद्यार्थी युनियनलाई सुम्पिएको घोषणा गरेका छन् ।
गत शुक्रबार पुल्चोक, थापाथली र पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका स्ववियु सभापतिहरुले संयुक्त विज्ञप्ति जारी गर्दै हालको भन्दा गुणस्तर वृद्धिका साथ क्याम्पस चलाएर देखाउने चुनौती दिएका थिए ।
त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विभागीय प्रमुखहरुले आफुहरुले सम्हालेको विभाग स्ववियु सभापतिलाई चलाउन दिने निर्णय भएको बताएका हुन् ।
‘यस कुराको गाम्भीर्यतालाई महशुस गरी छलफल हुँदा यस्तो उच्च आकांक्षा बोकेका स्ववियु सभापतिहरुलाई विभाग चलाउन मार्ग प्रशस्त गरिदिने सल्लाह भएकाले विभागीयका सम्पूर्ण कार्य सञ्चालन जिम्मेवारी सुम्पिएको जानकारी गराउँदछौं,’ विभागीय प्रमुखहरुद्वारा क्याम्पस प्रमुखलाई लेखिएको पत्रमा भनिएको छ ।
उनीहरुले आफुले गर्दै आएको काम हाललाई स्थगन गरी स्ववियुलाई नै विभागको जिम्मा लगाउन प्राध्यापक संघ र कर्मचारी संघको समेत समर्थन रहेको उल्लेख गरेका हुन् ।
अप्लाईड साइन्स तथा केमिकल इकाई विभाग प्रमुख प्रा.डा. हेमराज पन्त, सिभिल इकाई विभाग प्रमुख प्रा.डा. गोकर्ण मोत्रा, आर्किटेक्चर विभाग प्रमुख सहप्राध्यापक डा. सञ्जय उप्रेती, इन्जिनियरिङ्ग विभाग प्रमुख सहप्राध्यापक डा. ज्योती तण्डुकार, इलेक्ट्रिकल इकाई विभाग प्रमुख उपप्राध्यापक डा. युवराज अधिकारी र मेकानिकल तथा एरोस्पेस इकाइ विभाग प्रमुख उपप्राध्यापक डा. सुदिप भट्टराईले संयुक्त पत्र लेखेका हुन् ।
टिप्पणीहरू