सुरुङ खनेर मध्यराति घरभित्र छिरेका तीनजनाले महिलाको घाँटी रेटे

सुरुङ खनेर मध्यराति घरभित्र छिरेका तीनजनाले महिलाको घाँटी रेटे

पर्साको जगरनाथपुर गाउँपालिका–५ मसिहानीकी ५६ वर्षीया कान्तिदेवी विनको हत्या अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

गत असोज १ गते रातको पौने १२ बजेतिर कान्तिको घरमै घाँटी रेटी रडले हानेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो । सोही हत्या अभियोगमा स्थानीय तीनजनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मृतकका देवर पर्ने ३६ वर्षीय लालबाबु राउत विन, जेठाजु पर्ने ५६ वर्षीय चन्द्रिका राउत विन र ५७ वर्षीय अमिरिका राउत विन रहेको प्रहरीले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

पर्सा प्रहरीका अनुसार वैदेशिक रोजगारीमा रहेका मृतक कान्तिका छोराले पठाउँदै आएको रकम चोरी गर्ने उद्देश्यले सुरुङ बनाएर उनीहरू घरभित्र प्रवेश गरेका थिए । कान्तिदेवीले चोरी गर्न गएकाहरूलाई चिनेपछि रहस्य खुल्ने डरले सिरानीले मुख थुनेर घाँटी रेटेर रड प्रहार गरी हत्या गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

मृतकका देवर पहिलो चरणको अनुसन्धानमा असोज ७ मा पक्राउ परेपछि उनकै बयानको आधारमा थप दुईजना असोज १४ गते समातिएका हुन् । उनीहरूलाई हिरासतमा राखेर कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू