मधेशको सुरक्षा अवस्था बुझ्न गृहमन्त्री महोत्तरीमा
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेस प्रदेशको समसामयिक सुरक्षा चुनौतीबारे आठै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सबै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्नुभएको छ ।
मधेशका जिल्लामा बढेको सुरक्षा चुनौतिको विषयमा आज महोत्तरीको बर्दिबासमा आयोजित अन्तरक्रियात्मक बैठकमा उहाँले सिडिओ र प्रहरी प्रमुखहरुसँग रिपोर्टिङ लिनुभएको हो । बैठकमा अहिले सिडिओहरुले रिपोर्टिङ गरिरहेका छन् । यसपछि सुरक्षा निकायका प्रमुखहरूको रिपोर्टिङ सुनेपछि उपप्रधानमन्त्री श्रेष्ठले आवश्यक सुझाव र निर्देशन दिनुहुनेछ ।
प्रदेशका कतिपय ठाउँमा धार्मिक सद्भाव बिथोल्ने तत्वहरू सक्रिय रहेको, मिटरब्याज नियन्त्रण कानुन र आयोग बने पनि त्यसलाई निरुपण गर्ने सन्दर्भमा कतिपय गलत नियत भएका व्यक्तिबाट वाधा व्यवधान खडा गर्न खोजिएको, कतिपय पालिकाका जनप्रतिनिधिहरूको बेमेलले समेत सुरक्षा चुनौती खडा गरेको, सामाजिक सञ्जालमा आउने कतिपय सामाग्रीले उत्तेजना निर्माण गर्न खोजेको लगायतका समस्या त्यसक्रममा सिडिओहरुले उजागर गरेका छन् ।
भारतमा चुनाव नजिकिएकाले सीमा क्षेत्रमा तनाव बढ्न सक्ने तथा अवैध ओसारपसार र भारतीय गाडीको अत्यधिक प्रयोगले समेत सुरक्षा व्यवधान खडा गर्न सक्ने उनीहरूको भनाइ छ । प्रशासनले सबै गैरकानुनी गतिविधिलाई प्रत्यक्ष र सुक्ष्म निगरानी गरिरहेको र सुरक्षा अवस्थालाई चुस्त राखिएको समेत जानकारी गराइएको छ ।
गृह मन्त्रालयका सचिव, प्रवक्ता, नेपाल प्रहरी र सशस्त्र प्रहरीका आईजी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेना मधेस प्रदेश प्रमुख लगायत बैठकमा सहभागी छन् ।
टिप्पणीहरू