धार्मिक सद्भाव भड्काउने तत्वलाई समयमै नियन्त्रणमा लिन गृहमन्त्रीको निर्देशन

धार्मिक सद्भाव भड्काउने तत्वलाई समयमै नियन्त्रणमा लिन गृहमन्त्रीको निर्देशन

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले धार्मिक एवम् सामुदायिक सद्भाव भड्काउने तत्वलाई समयमै पहिचान गरि नियन्त्रणमा लिन सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । 

महोत्तरीको बर्दिबासमा सम्पन्न गृह प्रशासन र सुरक्षा अधिकारीहरूबीचको अन्तरक्रियात्मक बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । त्यसअघि गृहमन्त्रीले मधेश प्रदेशको सुरक्षा अवस्थाबारे आठै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र सबै सुरक्षा निकायका प्रदेश र जिल्ला प्रमुखहरूसँग रिपोर्टिङ लिनुभएको थियो । 

त्यसक्रममा गृहमन्त्री श्रेष्ठले जनताले सुशासन तथा गुणात्मक आर्थिक समृद्धि चाहेकोले सेवा प्रवाहलाई सहज र गुणस्तरीय बनाउन, शान्ति सुरक्षा चुस्त राख्न, भ्रष्टाचारी एवम् अपराधीलाई कानुनको दायरामा ल्याउन तथा दण्डहीनताको अन्त्य गर्न पनि मातहतका निकायलाई निर्देशन दिनुभयो । सबै किसिमका विभेदको अन्त्य, जोखिम न्युनिकरण, प्रकोप पीडितको प्रभावकारी उद्दार एवम् राहत, लागुऔषधको नियन्त्रण जस्ता प्राथमिकतामा अझै चुस्त र प्रभावकारी काम गर्न पनि सुरक्षा निकायका प्रमुख र सिडियोहरुसँग उहाँको विशेष आग्रह छ । 

 मुद्दा मिलाउने भन्दै मिटरब्याजी र पीडितबाट रकम असुल्ने गरिएको गुनासो आफूलाई प्राप्त भएकोले त्यस्तो प्रवृत्ति क्षम्य हुन नसक्ने पनि उहाँले प्रष्ट बताउनुभयो । साथै प्रहरीमा महिला सेल भएजस्तै दलित सेलसमेत स्थापना गर्न निर्देशन दिइसकिएको सोक्रममा गृहमन्त्रीले जानकारी दिनुभयो । 

त्यसअघि सिडियो र सुरक्षा निकायका प्रदेश तथा जिल्ला प्रमुखहरूले प्रदेशका कतिपय ठाउँमा धार्मिक सद्भाव बिथोल्ने तत्वहरू सक्रिय रहेको, मिटरब्याज नियन्त्रण कानुन र आयोग बने पनि त्यसलाई निरुपण गर्ने सन्दर्भमा कतिपयबाट वाधा व्यवधान खडा गर्न खोजिएको, पालिकाका जनप्रतिनिधिहरूको बेमेलले सुरक्षा चुनौती खडा गरेको, सामाजिक सञ्जालमा आउने कतिपय सामाग्रीले उत्तेजना निर्माण गर्न खोजेकोलगायतका समस्या उजागर गरेका थिए । 

भारतमा चुनाव नजिकिएकाले सीमा क्षेत्रमा तनाव बढ्न सक्ने तथा अवैध ओसारपसार र भारतीय गाडीको प्रयोगले समेत सुरक्षा व्यवधान खडा गर्न सक्ने उनीहरूले गृहमन्त्री सामु चिन्ता जनाएका थिए । प्रशासन र सुरक्षा संयन्त्रले सबै किसिमका गैरकानुनी गतिविधिलाई प्रत्यक्ष तथा सुक्ष्म निगरानी गरिरहेको र सुरक्षा अवस्थालाई तन्दुरुस्त राखिएको उनीहरूको दावी छ । 

 गृहसचिव दिनेश भट्टराईको अध्यक्षतामा सम्पन्न अन्तरक्रियात्मक बैठकमा प्रदेश सरकारका मुख्यसचिव दिनेश घिमिरे, नेपाल प्रहरीका आइजी वसन्तबहादुर कुँवर, सशस्त्रका आइजी राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका निमित्त प्रमुख ओमप्रकाश जोशीले पनि पछिल्लो सुरक्षा अवस्थाबारे बोलेका थिए ।   कार्यक्रममा गृह मन्त्रालयका प्रवक्ता नारायण भट्टराई, नेपाली सेनाका मध्यपूर्वी पृतनापति उपरथि  प्रेमध्वज अधिकारी लगायत पनि सहभागी थिए ।
 

टिप्पणीहरू