पूर्व प्रधानमन्त्रीहरुलाई चेपाङको जाबी उपहार

पूर्व प्रधानमन्त्रीहरुलाई चेपाङको जाबी उपहार

मेची महाकाली समाजवादी जागरण अभियानमा खटिएका पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनालसहितका नेताहरुलाई मकवानपुरका चेपाङ समुदायले जाबी उपहार दिएका छन् । 

हेटौँडाको जनसभा सकाएर चितवनतर्फ लागेको समाजवादी जागरण अभियानको टोलीलाई पश्चिम मकवानपुरको मनहरी बजारमा चेपाङ समुदायले प्रयोग गर्ने जाबी (वनस्पतिबाट निर्मित एकप्रकारको झोला) पूर्वप्रधानमन्त्रीद्वय नेपाल र खनालसहितका उपहार दिइएको हो । संविधानसभाका सदस्य एवम् नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङ, नेकपा एकीकृत समाजवादी बागमती प्रदेश कमिटी सदस्य कृष्णबहादुर चेपाङसहितले जाबी भिराएर स्वागत गरेका थिए । 

चेपाङ पहिचानसँग जोडिएको जाबी उपहार दिएर चेपाङ संस्कृति र परम्पराबारे जानकारी गराउन खोजिएको बागमती प्रदेश कमिटीका सदस्य कृष्णबहादुर चेपाङले बताए । झापाबाट शुरु भएको समाजवादी जागरण अभियानमा पार्टीका अध्यक्ष नेपाल,सम्मानित नेता खनालसहितका नेता कार्यकर्ताको सहभागिता छ । हेटौँडामा आयोजित जनसभामा बोल्दै समाजवादीका अध्यक्ष नेपालले जनतामाझ पुगेर उनीहरुसँग प्रत्यक्ष समस्या समाधानका लागि पहल गर्न जनताको मनोभावना बुझ्न मेचीमहाकाली समाजवादी जागरण यात्रा गरिएको बताउनुभयो ।

मेची महाकाली समाजवादी जागरण अभियानमा पार्टीका सम्मानित नेता खनाल,उपाध्यक्ष राजेन्द्र पाण्डे,सचिव रामकुमारी झाँक्री,संघीय तथा प्रादेशिक मन्त्री, सांसदहरु समेत सयौँ नेता कार्यकर्ताको सहभागिता छ ।
 

टिप्पणीहरू