चितवन र डोटीमा नदीमा बगेर एकको मृत्यु, तीन जना बेपत्ता
चितवनमा नदीले बगाउँदा एक जनाको मृत्यु र अर्का एक जना बेपत्ता भएका छन् । दिव्यनगरमा निगुरो टिप्न जाँदा राप्तीले बगाएर एक जनाको मृत्यु भएको छ ।
आज बिहान भरतपुर–२४ की ४८ वर्षीया फडीमाया अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनीसँगै गएकी ३२ वर्षीया निरमाया श्रीमल बेपत्ता भएकी हुन् । मृतक अधिकारीको शव पोस्टमार्टमका लागि भरतपुर पठाइएको छ । बेपत्ता श्रीमलको खोजी कार्य भइरहेको चितवन प्रहरीले जनाएको छ ।
त्यसैगरी मेघौलीमा जमेको पानीमा ५४ वर्षीय जयवीर लामाको शव फेला परेको छ । शव खाली जग्गामा जमेको पानीमा घोप्टो परेको अवस्थामा फेला परेको बताइएको छ ।
उता डोटीको सेती नदीमा नुहाउने क्रममा एक बालक र एक बालिका बेपत्ता भएका छन् । दिपायल सिलगढी नगरपालिका–४, सेती पुल नजिकै नुहाउने क्रममा ती बालक बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका उनका अनुसार बेपत्ता भएकामा ८ वर्षीया खुशी प्रजापति र अढाई वर्षका सिद्धार्थ देउवा हुन् । बेपत्ता दुवैको खोजीका लागि सुरक्षाकर्मी तथा स्थानीयवासी खटिएको बताइएको छ ।
टिप्पणीहरू