हजुरबाका कार्यकर्ताले मोसो दलेको दुर्गा प्रसाईको दावी

हजुरबाका कार्यकर्ताले मोसो दलेको दुर्गा प्रसाईको दावी

मार्सी उपनामले प्रख्यात विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूमाथि कालोमोसो दल्नेहरु एमाले कार्यकर्ता भएको बताएका छन् ।

आज दिउँसो उनलाई एउटा समूहले कान्तिपथस्थित होटल यल्लो पगोडामा मोसो दलेको थियो । प्रसाईले उक्त घटनामा एमालेका कार्यकर्ता संलग्न रहेको दावी गरेका हुन् । 

आफूले सर्वहारा वर्गको पक्षमा वकालत गर्दा एमालेका कार्यकर्ताले दुर्व्यवहार गरेको उनको भनाइ छ । देशमा देखिएका विभिन्न समस्याका विषयमा राखिएको छलफल कार्यक्रमलाई सम्बोधन गरिसकेपछि गाडी चढ्ने बेलामा रंग-पानीले भरेको बोतलबाट एमालेका कार्यकर्ताले आफूमाथि छ्यापेको उनले बताए ।

प्रसाई गत आमनिर्वाचन अघिसम्म एमाले अध्यक्ष केपी शर्मा ओलीका अन्ध समर्थक थिए । ओलीलाई हजुरबा भनेर सम्बोधन गर्थे । तर, चुनावमा टिकट नपाएपछि रिसाएर एमाले छोडेका उनी त्यसयता राजावादी आन्दोलनमा सहभागी छन् । 

राजनीतिक रुपमा उग्र विचार राख्दै आएका प्रसाईले एक वर्षदेखि बैंक तथा वित्तीय संस्थाका कर्जा चुक्ता नगर्न सर्वसाधारणलाई उक्साउँदै आएका छन् । उनी आफैंले गत वर्ष फागुनमा बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर ‘कालोमोसो दस्ता’ घोषणा गरेका थिए ।
 

टिप्पणीहरू