मायानाथलाई यसरी बनाइयो पोखरामा बलीको बोको

मायानाथलाई यसरी बनाइयो पोखरामा बलीको बोको
सुन्नुहोस्

-अञ्जनकुमार 

गण्डकीमा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारी र उपमहासचिव तथा गण्डकी प्रदेशका प्रथम मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ गुटका हिसाबले अध्यक्ष केपी शर्मा ओली समूहकै भएपनि भित्री हिमचिम छैन । अधिकारी केपीलाई चाप्लुसी लगाउन माहिर नै मानिन्छन् भने गुरुङ केपी ओलीका गलत कदमको पनि यदाकदा बिरोध गर्नेका रुपमा चिनिन्छन् ।

माओवादी र नेकपा एमाले अलग हुन लागेको बखत गुरुङले माधवकुमार नेपाललाई अध्यक्ष दिएर भएपनि पार्टी एकतालाई जोगाउनुपर्छ भनेका थिए । अधिकारी माधव र झलनाथहरुलाई पार्टीभित्र ढिम्किनै दिन नहुने बताउँथे । 

मुख्यमन्त्री हुँदा तुलनात्मक रुपमा राम्रै काम गरेका गुरुङ प्रदेश सभा सदस्यमा उठेर पुनः मुख्यमन्त्री बन्ने र अधुरो काम सप्पन्न गराउने योजनामा थिए । तर उनै अधिकारीले भाँजो हालेर प्रदेशमा उठ्न ठिक्क परेका गुरुङलाई संघमा पुर्याइदिए । त्यसैले उनको नियतमा खोट रहेको गुरुङ निकटहरु बताउँछन् । 

पार्टी विभाजनको समयमा एमाले एक्लो एकातिर अरु चारदल अर्कातिर भएको बेला पृथ्वी सुब्बा (पि.एस.) लाई निर्वाचन जित्न सहज थिएन तर अत्यधिक मतले निर्वाचित भएपछि अधिकारीहरुको योजना एकाएक फेल खाएको सबैले बुझेका थिए । 

गएको प्रदेश÷संघ चुनावको अन्तिममा लमजुङको तालिका परिवर्तन भएपछि लगभग तिनवटै सिट जित्ने योजनामा रहेको एमाले संघको एक सिटमा खुम्चिन बाध्य भयो । सोहीताका गुरुङकै लाइनका लमजुङे मायानाथ अधिकारीहरु खगराज क्याम्पमा छिरे । पार्टी केन्द्रीय सदस्य, गण्डकी सहइञ्चार्ज, लमजुङ इञ्चार्ज, पार्टीको प्रदेश स्कुल विभाग प्रमुख, पि.एस. मुख्यमन्त्री हुँदा प्रमुख सचेतक बनाइयो । जब उनले यी सबै भुलेर खगराजको क्याम्प रोजे, सर्वसम्मत छनौट हुनुपर्ने प्रदेश अधिवेशन प्रतिनिधि बन्न समेत हम्मेहम्मे परेको हो । सर्वसम्मत छानिनुपर्ने नेतालाई दोर्दी पालिका सदस्य दिलबहादुर मगरले छोड्नै नमानेपछि चिन्तित बनेका उनले भिटो लगाउन परेको थियो । 
 

आठौं महाधिवेशनसम्म माधव नेपाल पक्षका अधिकारी २०७१ को नवौ महाधिवेशनमा भने पिएसको फेरो समाउँदै भूगोलबाट केन्द्रीय सदस्य बन्न पुगे । लमजुङमा एमालेको निर्विकल्प नेताको पहिचान बनाएका पृथ्वीसुब्बा गुरुङकै जोडबलमा चितवनमा सम्पन्न १० औं महाधिवेशनले मायानाथलाई केन्द्रीय सदस्यमा सर्वसम्मत चयन गरेको हो ।

जेजति अवसर पाएका थिए ती सबैमा पिएसकै आशीर्वाद थियो । त्यसरी अगाडि बढेका, खासै लप्पनछप्पन गर्न नजानेका अधिकारी खगराजको भुलभुलैयामा लागेका कारण राजनीतिक भड्खलामा परेको भन्न थालिएको छ ।
 
एमाले गण्डकी प्रदेश अधिवेशनमा पात्रहरू जो जो अगाडि सारिए पनि प्रतिष्ठाको लडाइँ उपमहासचिव गुरुङ र स्थायी कमिटी सदस्य खगराजबीच नै थियो । किनकी गुरुङ समर्थित म्याग्दीका नवराज शर्मा नेतृत्व प्यानललाई पराजित गराउन पार्टी महासचिव शंकर पोखरेलसहित शीर्ष नेताहरू नै घुँडा धसेर लागेका थिए । यसो त आफ्नै जिल्लाका मायानाथ, गोर्खाका रामशरण बस्नेत, स्याङ्जाका पद्मा अर्याल, तनहुँका किरण गुरुङसहित आफु मुख्यमन्त्री हुँदा राजनीतिक सल्लाहकार रहेका बाग्लुङका गोविन्द नेपाली समेत पिएसको विपक्षमा उभिएको सबैले देखे ।

नवौ महाधिवेशनसँगै सर्वशक्तिमान अध्यक्ष बनेका केपीको उदयपछि चर्चामा आएका कास्कीका अधिकारीले पृथ्वीले अघि सारेका नवराजलाई रोक्न लमजुङे अधिकारीलाई अगाडि सारेर बाघचालको सिद्धान्त अपनाइदिए । हिजो खगराजको खोइरो खन्ने पद्मा एकाएक उनको पक्षमा उभिइन् । पद्माका खास मान्छे भनिएका मिनप्रसाद गुरुङ पिएसको कित्तामा उभिएर उपाध्यक्षको उम्मेदवार बने । 

सचिवमा उम्मेदवार कास्कीका रश्मी आचार्य पिएस निकट देखिएपनि सचिवमा लमजुङका धनञ्जय नै दोहोरिने भएपछि खगराज गुटमा लागे । लमजुङका कैयांै कार्यकर्ताले मायानाथलाई पिएसविरुद्ध नलाग्न, चुनाव जित्न असहज रहेको भन्दै गर्दा ‘मैले हिसाब गरेको छु चुनाव जितिन्छ’ भनेर तर्किएका थिए । 
 
अधिवेशनमा भएको निर्वाचनको नतिजा आउनुअघि गण्डकीमा पिएस एक्लिएको चर्चा भयो । खगराजको प्यानल निकै उत्साहित देखियो । तर परिणामको पासा गुरुङ प्यानलमा पल्टियो । पाँच सय ३१ मत ल्याएर गुरुङ समर्थित नवराज शर्माले जित्दै गर्दा प्रत्यासी अधिकारीले ३ सय ६५ मत मात्रै पाए । ७० को हाराहारीमा रहेका लमजुङका प्रतिनिधिबाट २० मतपनि मायानाथको पक्षमा परेन ।

उपाध्यक्षमा सोही प्यानलकै मीनप्रसाद गुरुङले पाँँच सय ३४ मत प्राप्त गर्दा प्रत्यासी बाबुराम विश्वकर्माले जम्मा तीन सय ६२ प्राप्त गरे । सचिवमा लमजुङका धनञ्जय दवाडीले पाँ सय २० प्राप्त गरेर विजयी बने भने प्रतिद्वन्दी रश्मी आचार्यले तीन सय ७६ ल्याए । 

अन्य पदाधिकारीमा उपसचिवमा दामबहादुर विक चार सय ९९ ल्याएर विजयी भए भने प्रत्यासी सन्तोष रावलले तीन सय ७७ मत । महिला उपसचिवमा मञ्जु अधिकारीले पाँच सय ३३ मत प्राप्त गर्दा प्रतिस्पर्धी मीना गुरुङले तीन सय ६५ मत प्राप्त गरिन् । 
पद्माको जोडबलमा स्याङ्जाको अध्यक्ष बनेका सूर्यप्रसाद गैरे (पारस) सुधीर पौडेल, विश्व पौडेललगायतले पद्माको वचन नाघिदिए । के.आर. कमरेडलाई सहयोग गर्न नसकिने भनेपछि पद्मा अधिवेशन नसकिँदै काठमाडौं लागेकी हुन् ।

उता, शंकर र खगराजहरुले मायानाथलाई बलीको बोको बनाएको चर्चा गर्न थालियो । खगराज निकटस्थ कास्कीकै कृष्ण थापा, तनहुँका केदार सिग्देल हुँदाहुँदै जित्ने सम्भावना देखिएको भए मायानाथले कुनै हालतमा अध्यक्षको उम्मेदवारी नपाउने कास्कीका एक नेता बताउँछन् । जसको प्रभाव अब हुने जिल्ला अधिवेशनमा पनि पर्ने र लमजुङमा खगराजका पक्षधर कृष्णप्रसाद अधिकारी, सुवास पौडेलले पुनः अध्यक्ष र सचिवमा दोहोरिने मनसाय बनाएपनि पिएस समूहले कुनै हालतमा चाहना पूरा हुन नदिने योजना बनाइसकेका छन् ।

 

टिप्पणीहरू