काँग्रेसका विद्यार्थीले च्यासलमा बत्ति बाले, विप्लवका कार्यकर्ता लगनखेलमा

काँग्रेसका विद्यार्थीले च्यासलमा बत्ति बाले, विप्लवका कार्यकर्ता लगनखेलमा
सुन्नुहोस्

प्यालेष्टिनी विद्रोही समूह हमासको आक्रमण परेर इजरायलमा ज्यान गुमाएका नेपालीको सम्झनामा विभिन्न ठाउँमा दीप प्रज्वलन गरिएको छ । 

आज साँझ विभिन्न राजनीतिक दलका भ्रातृ संगठनहरुले दीप प्रज्वलनसहित श्रद्धाञ्जली सभा आयोजना गरेका हुन् । नेपाली काँग्रेसको द्यार्थी संगठन नेविसंघले ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इन्जिनियरिङ्गमा दीप प्रज्वलन गरेको छ । 

नेविसंघको हिमालय कलेज इकाई समितिले आयोजना गरेको उक्त कार्यक्रममा उपस्थित डेढ दर्जन विद्यार्थीले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै बत्ति बालेका हुन् । 

त्यस्तै, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा सम्वद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीले पनि ललितपुरमै दीप प्रज्वलनसहित श्रद्धाञ्जली सभा आयोजना गरेको छ । संगठनको ललितपुर जिल्ला कमिटीले लगनखेलको बसपार्कस्थित पिलबोट चौतारामा कार्यक्रम राखेको हो । 

क्रान्तिकारीका ललितपुर जिल्ला इञ्चार्ज तथा केन्द्रीय सदस्य निगम भण्डारीको नेतृत्वमा करिब डेढ दर्जनको संख्यामा उपस्थित विद्यार्थीहरुले इजरायल युद्धमा ज्यान गुमाएका १० जनाको फोटोमा माल्यार्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका थिए । कार्यक्रममा बोल्ने विद्यार्थी नेताहरुले इजरायलमा फसेका नेपालीहरुको उद्धारका लागि सरकारको ध्यानाकर्षणसमेत गराएका छन् । 

गत शनिबार हमास विद्रोहीहरुले अचानक इजरायलको गाजापट्टीमा आक्रमण गर्दा अध्ययनको क्रममा त्यहाँ पुगेका १० नेपालीको ज्यान जानुका साथै दर्जनौँ घाइते भएका छन् । घटनालगत्तै नेपाल सरकारले इजरायल सरकारसँग समन्वय गरी युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीलाई सुरक्षित स्थानमा अवतरण गराउनुका साथै मृतकको शव नेपाल ल्याउने प्रक्रिया अघि बढाएको छ । 

सरकारले आज राष्ट्रिय शोक घोषणा गरेर राष्ट्रिय झण्डा आधा झुकाएको छ ।

टिप्पणीहरू