गाडीमा गीत बजाउँदै समाजवादी अभियान कोहलपुर कट्दै महाकालीतिर
समाजवादी जागरण अभियान लिएर नेकपा एकीकृत समाजवादीले पूर्वबाट थालेको मेची-काली यात्रा मध्य पश्चिम पुगेको छ ।
झापाबाट शुरु भएको समाजवादी यात्रा मधेस प्रदेशका विभिन्न जिल्लामा कार्यक्रम सम्पन्न गरी आज बाँके कटेको हो । यात्रामा पूर्वप्रधानमन्त्री तथा अध्यक्ष माधवकुमार नेपाल,अर्का पूर्वप्रधानमन्त्री तथा सम्मानित नेता झलनाथ खनाल,महासचिव घनश्याम भुसालसहित शीर्ष नेताहरु सहभागी छन् ।

अभियानअन्तर्गत बाँके र बर्दियामा विभिन्न कार्यक्रम गरिँदैछ । बिहान ८ बजेदेखि १० बजेसम्म कोहलपुरमा विभिन्न भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । त्यसक्रममा प्याब्सन, एन प्याब्सनसँग छलफल र पत्रकार सम्मेलनलाई नेताहरुले सम्बोधन गरेका थिए । त्यसपछि कोहलपुरको निम कटेजमा अभियान टोलीले खाना खाएपछि न्युरोड चोकमा सभा गरिएको छ ।

दिउँसो साढे १ बजे खजुरामा छोटो कोणसभा गर्ने कार्यक्रम रहेको छ । अपराह्न ३ बजे बर्दियाको गुलरियामा सांस्कृतिक कार्यक्रमसहित सभा सकेर टोली आज त्यहीँ बास बस्नेगरी कार्यक्रम तय भएको बताइएको छ ।
बाँकेको कार्यक्रममा समाजवादीले ठूलो शक्ति प्रदर्शनसमेत गरेको छ । चुनावी माहोललाई बिर्साउनेगरी गीत बजाउँदै कोहलपुरको सडकमा गाडीको लस्कर निस्किएको थियो ।
एकीकृत समाजवादीले समाजवादको आवश्यकता र औचित्यबारे आमजनतालाई जानकारी गराउन र उनीहरुका भावना बुझ्न यो अभियान सन्चालन गरेको जनाएको छ ।
टिप्पणीहरू