गण्डकीमा किन यतिसाह्रो गलफत्ती

गण्डकीमा किन यतिसाह्रो गलफत्ती

एमाले प्रदेशको अधिवेशनअघि पोखराको पत्रकार सम्मेलनमा केन्द्रीय सचिव तथा गण्डकी इञ्चार्ज गोकर्ण विष्टले ‘सकेसम्म सर्वसम्मत नेतृत्व छान्छौँ । कसैले प्रतिस्पर्धा गर्न चाहन्छ भने लोकतन्त्रको अभ्यास पार्टीले रोक्दैन भनेका थिए । त्यसो भन्दै गर्दा उनले प्यानल बनाएर चुनाव लड्न छुट नदिने पनि जोडदार तवरले निर्देशनकै रूपमा बोलेका थिए । तर, सर्वसम्मत नेतृत्व चयन भएन बरु अधिवेशनमा गुटको बादलले छपक्कै छोप्यो । मतपरिणाम हेर्दा केन्द्रीय उप–महासचिव पृथ्वीसुब्बा गुरुङको साथ पाएको नवराज शर्माको प्यानलले क्लिन स्वीप जस्तै गरेको छ । शर्मासँग केन्द्रीय सदस्य मायानाथ अधिकारी चुनावी प्रतिस्पर्धामा रहेका उनी नराम्रोसँग पराजित हुन पुगेका छन् ।

मायानाथको पक्षमा निकै ठूलो समूह लागेको भए पनि पिएसलाई पल्टाउन सकेन । शर्मा प्यानलका प्रायः उम्मेदवारले ५ सय २५ मत कटाए । उक्त प्यानलबाट उपाध्यक्ष मीनप्रसाद गुरुङ, सचिव धनञ्जय दवाडी तथा सह–सचिवमा दामबहादुर विक र मञ्जु अधिकारी निर्वाचित भए । समग्र मतको अवस्था हेर्दा अधिकारी पक्षका उम्मेदवारहरूले चार सय भन्दा तल मत ल्याएका छन् भने शर्मा पक्षकाले पाँच सय कटाएका छन् । यसलाई हेर्दा पिएस समूह गण्डकी प्रदेशमा ६० प्रतिशतको अवस्थामा देखियो भने अधिकारी पक्ष ४० प्रतिशत ।

‘केपीपछिका हाम्रा बा पिएस’

सभा हलमै युवाहरूले एउटा नारा घन्काए, ‘केपीपछि हाम्रा बा पिएस हुन्’ । गण्डकीमा खगराजभन्दा पिएसलाई रुचाउनेहरू बढ्दै गएको एमाले पंक्तिमा घन्केको नाराले देखाए पनि यो प्रकारको नारा हलमा नलगाउँदा पनि बिग्रने केही थिएन । हुन त गण्डकीको राजनीति पिएस, खगराज अधिकारी, किरण गुरुङ र पद्मा अर्यालको वरिपरि घुमेकै छ । यो अधिवेशनमा पिएस करिब एक्लै देखिन्थे । ‘नेताका संख्या शून्य देखिएको पिएसप्रति कार्यकर्ताको अपार माया थियो । आवश्यकता हेरेर निर्णय लिने, जित्ने मान्छेलाई टिकट दिनुपर्छ भन्ने पिएसको धारणाले काम गरेको देखियो ।

मायानाथलाई जिताउन महासचिव शंकर पोखरेल ४ दिनसम्म पोखरामै बसेका थिए । उनले एक वर्षअघिदेखि मायानाथको पक्षमा लबिङ गर्दै अध्यक्षको तयारी गर्न आफूनिकट नेता कार्यकर्तालाई आन्तरिक निर्देशन नै दिएको पनि सुन्नमा आएको थियो तर उक्त निर्देशन बालुवामा पानी खन्याएजस्तै देखियो ।

०७४ को निर्वाचनमा किरण गुरुङ मुख्यमन्त्रीको मुख्य दावेदार मध्येका थिए । अहिलेका अध्यक्ष उम्मेदवार मायानाथ अधिकारी र सचिव उम्मेदवार रश्मी आचार्य पद्मानिकट मानिन्छन् । किरणलाई खगराजको साथ त्यतिबेला पनि थियो । अहिले खगराजलाई किरणले सोही समयको गुन तिर्न सहयोग गरेको एमाले पंक्तिको दाबी छ । सचिव पद्मा पनि त्यही नजिक पुग्नुको खास कारण छ । हुन त पद्माकै निकटका मीनप्रसाद गुरुङलाई पिएस समूहले उपाध्यक्षमा उठाइदिएको कारण मुख खोलेर बोल्न नसके पनि खुलेर समर्थन वा बिरोध गर्न सकिनन् पद्माले ।

केन्द्रीय सदस्य तल्लो तहमा झर्न नहुने मत अधिवेशनभन्दा पहिला नै बढ्दै गएको थियो । अधिकारी समूहबाट ४ जना केन्द्रीय सदस्य प्रदेश प्रतिनिधि बनेर आएका थिए । मायानाथसँगै गोरखाका रामशरण बस्नेत, कास्कीका कृष्ण थापा र राजीव पहारी । चारै जना केन्द्रीय सदस्यको दाबी प्रदेश अध्यक्षमा थियो । केन्द्रबाट प्रदेशमा झरेका र अर्को समूहतिर देखिएका भनेपछि त्यसलाई हराउनकै लागि कार्यकर्ताले नवराज पक्षमा मत दिएको पनि नतिजाबाट नियाल्न सकिन्छ । ‘केन्द्रीय महाधिवेशनबाट जिम्मेवारी प्राप्त गरेर तल झरेकालाई कार्यकर्ताले रुचाएनन् । माथि अवसर पाइसकेका व्यक्ति तल आउन खोज्नु नेताको भूल थियो भन्ने कुरा प्राप्त मतले पुष्टि गरेको छ ।

टिप्पणीहरू