अध्यक्ष ओलीले फोन गरेर सीधै चुनावमा नउठ्न भनेपछि
एकातिर सर्वसम्मत नेतृत्व छान्न दिएको निर्देशन पालना नहुने, अर्कोतिर आफूले चाहेका उम्मेदवारले चुनाव नजित्ने । प्रदेश अधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले भोगेको पीडा हो यो ।
सौराहा महाधिवेशनमा आफै सर्वसम्मत हुन नसक्नुभएका ओली प्रदेशमा आफू अनुकूल नेतृत्व चयन गर्ने कसरतमा हुनुहुन्थ्यो । तर,पाँच भौगोलिक र एक गैरभौगोलिक प्रदेशको अधिवेशन सम्पन्न भैसक्दा उहाँले चाहेजस्तो भएन । भूगोलका पाँच वटा प्रदेशमा चुनावबाट नेतृत्व छानिंदा लुम्बिनी, कर्णाली र गण्डकीको परिणाम उहाँ प्रतिकूल आयो । ओलीले अघि सारेका उम्मेदवारले अध्यक्ष जितेको बाग्मती र कोशीमा पनि कडा प्रतिष्पर्धा भएको थियो ।
यो स्थितिले निराशसँगै आक्रोशित हुनुभएका ओलीले उपत्यका विशेष प्रदेश कमिटीलाई चुनावमा नजान विशेष आग्रह गर्नुभयो । असोज १९ गते दिउँसो काठमाडौँमा अधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले विपक्षी पार्टी र केही सञ्चार माध्यमहरुले नकारात्मक टिप्पणी गर्ने मौका पाएको जनाउँदै उपत्यका विशेष प्रदेशले सर्वसम्मत गरेर त्यो अवस्था आउन नदिने विश्वाससमेत व्यक्त गर्नुभएको थियो ।
त्यसक्रममा ओलीले भन्नुभयो, ‘हाम्रा विपक्षीहरूले अधिवेशनको सन्दर्भमा टिकाटिप्पणी गर्न पाएका छन् । उपत्यका विशेषले एकोहोरो खालको अर्को खालको टिकाटिप्पणी गर्ने मौका नदेओस् । अहिलेसम्म लडे भिडे भन्ने सन्देश गइरहेको छ । यस अधिवेशनले सर्वसहमति गरेर डेमोक्रेसी नै भएन भन्ने त्यो मौका पनि दिऔं ।’
नेतृत्व हात पार्न नेताहरुका आ-आफ्नै लबिङ बुझ्नुभएका ओलीले चुनाव गर्दा हार्नेले मन दुखाउने भएकाले सर्वसम्मत गर्नु उपयुक्त हुने तर्क गर्नुभएको थियो । ’जितेर पनि के के न ठूलो कुरा पाइने होइन । सबैले जित्ने पनि होइन । हारेपछि मन दुख्छ । सहमति गर्यो भने कसैको मन पनि दुख्दैन’, सर्वसम्मत गर्न सुझाउँदै उहाँले भन्नुभएको थियो ।
भूगोलका प्रदेशमा चुनावबाटै नेतृत्व छिनोफानो भैरहँदा पेशागत संगठनहरुको बाहुल्यता रहेको उपत्यका विशेष प्रदेशमा अध्यक्षको चाहनामुताविक नै सबै पदमा सर्वसम्मत नेतृत्व चयन भएको घोषणा गरियो पनि । अध्यक्षमा प्रेम पराजुली निर्विरोध चयन भए । अरु पदमा पनि त्यसैगरी नाम घोषणा गरेर अधिवेशन टुंग्याईयो ।
तर,ओली आफैँले विभिन्न नेताहरुलाई फोन गरेर उम्मेदवारी नदिन दबाब दिएको भन्दै क्रमश: असन्तुष्टिहरु बाहिरिन थालेका छन् । स्रोतले भनेअनुसार मोहन रेग्मीलाई ओलीले सिधै फोन गरेर उम्मेदवारी दिए जोखिममा पर्ने चेतावनी दिनुभएको थियो । त्यस्तै,अध्यक्षमा उठ्ने तयारी गरिरहेका धादिङ्गका चन्द्र रिजाललाई पनि त्यसैगरी घुमाउरो थ्रेट गरेपछि उनी अन्तिम समयमा ब्याक भए ।
'बाहिर सर्वसम्मत भएको भनिए पनि खासमा माथिबाट जवर्जस्ती निर्णय लादिएको हो', एक नेताले भने, 'अध्यक्षले नै फोन गरेर उम्मेदवारी दिए राम्रो हुँदैन भनेपछि आफ्नो राजनीति जोगाउन पनि सर्वसम्मत गर्नुपर्ने बाध्यता आइपर्यो ।'
टिप्पणीहरू