मार्सीमाथि मोसो काण्डमा एमालेका कुन- कुन युवा मुछिए ?
कर्मचारीलाई तलब-भत्ता खुवाउन दातासँग हात पसार्नुपर्ने अवस्थामा पुगिसकेको छ देश । लक्ष्यअनुसार राजश्व नउठ्दा आन्तरिक ऋण बढेको बढ्यै छ । आँखै अगाडि देशको यस्तो डरलाग्दो चित्रले नेताहरुलाई गम्भीर बनाउनुपर्ने हो । तर, यसतर्फ न सरकारमा बस्नेहरुलाई चिन्ता छ,न प्रतिपक्षलाई चासो ।
देशमा यतिधेरै समस्या छन्,तर आ-आफ्नै दुनो सोझ्याउने ध्याउन्नमा रहेका राजनीतिक पार्टीहरु भने झिना मसिना कुरामा अल्झिएर समय खेर फालिरहेका छन् । कतिसम्म भने 'वेटिङ प्राइम मिनिस्टर' भनिने प्रमुख प्रतिपक्षी दलका नेतालाई त सडकमा कराउने एउटा मामुली मान्छे दुर्गा प्रसाईंसँग दन्तबझान गर्दैमा ठिक्क छ ।
विडम्बनाको कुरा,झण्डै दुई तिहाई नजिकको सरकारको नेतृत्व गरेर आएको त्यसबेलाको शक्तिशाली नेतालाई मेडिकल माफिया भनेर चिनिएका दुर्गा प्रसाईंजस्तो एउटा साधारण मान्छेले सडकबाट लल्कारी रहेको छ । त्यसो त, प्रसाईं ओलीले नै पुल्पुल्याएका पात्र हुन् । गत आमनिर्वाचन अघिसम्म एमालेमै रहेका उनी ओलीलाई हजुरबा भनेर सम्बोधन गर्थे । तर, चुनावमा टिकट नपाएपछि रिसाएर पार्टी छोडेका उनी त्यसयता राजावादी आन्दोलनमा सहभागी छन् ।
'नागरिक बचाऊ अभियान' का नाममा पूर्वराजा ज्ञानेन्द्र शाहलाई मेची पुलमा उभ्याएर शक्ति प्रदर्शन गरेका प्रसाईं त्यसयता बैंक तथा वित्तीय संस्थाको ऋण नतिर्न सर्वसाधारणलाई उक्साउँदै आइरहेका छन् । सार्वजनिक मन्चबाटै प्रमुख पार्टीका शीर्ष नेताविरुद्ध चर्का भाषण गर्दै आएका उनी पछिल्लो समय ठूला व्यापारिक घरानियाका मारवाडीविरुद्ध खुलेर लागेका छन् ।
प्रसाईंका अभिव्यक्तिप्रति प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड,कांग्रेस सभापति शेरबहादुर देउवालगायतले वास्ता गरेका छैनन् । तर, एमाले अध्यक्ष ओलीले भने प्रसाईंको नाम नलिई उनका गतिविधिलाई सरकारले तत्काल नियन्त्रण गर्नुपर्ने बताउने गरेका छन् । तिनै प्रसाईंमाथि अस्ति असोज २२ गते कान्तिपथस्थित होटल यल्लो पगोडामा मोसो दलिएपछि सो घटनामा एमालेको संलग्नता रहेको आरोप लागेको छ ।
घटनाको एमालेको भातृ संस्था युवासंघले घुमाउरो जिम्मा पनि लिएको छ । घटनालगत्तै युवासंघ इञ्चार्जसमेत रहेका एमाले नेता महेश बस्नेतले प्रसाईंलाई आफूहरुको क्षमता ननाप्न सार्वजनिक चुनौती दिएका थिए । ‘बैंक तथा वित्तीय संस्थालाई चुनौति दिने, विभिन्न समुदायलाई देशबाट निकाल्छु,कालोमोसो दल्छु भन्ने अपराधिक कर्म गर्ने दुर्गा प्रसाईंलाई युवाहरुले आज तह लगाएछन् । यस्तालाई सरकारले कारबाही गरोस् । जनप्रतिरोध हुनु राम्रो होइन । युवा संघको तागत ननाप प्रसाईं’, बस्नेतले सामाजिक सञ्जालबाट धम्कीयुक्त चेतावनी दिएका थिए ।
प्रसाईले पनि बस्नेतलाई कडा जवाफ फर्काएका छन् । केपी ओलीको संलग्नतामा आफूमाथि दुर्व्यवहार भएको दावी गर्दै प्रसाईंले महेश बस्नेतसँग अब असली खेल शुरु भएको उनको प्रतिचेतावनी छ । घटनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रसाईले ओली र बस्नेतमा राजनीतिक चरित्र नै नभएको पनि बताएका थिए ।
प्रसाईंले भनेजस्तै राजनीतिक संगठनको आडमा गैरराजनीतिक चरित्रका पात्रहरु त्यसदिन घटनास्थलमा देखिएका थिए । दुर्गा प्रसाईंले प्रहरीलाई दिन ठीक पारेको जाहेरीमा युवासंघका सचिव जय गुरुङ,अमृत पौडेललगायत बस्नेत निकटहरुको नाम छ । पौडेल अपहरणको केशमा चार वर्ष जेल बसेर छुटेका पात्र हुन् ।
प्रसाईंको टिमले ओलीकै निर्देशनमा बस्नेतले खटाएका युवाहरुले मोसो दलेको ठहर गर्दै बदला लिने जनाएको छ । एकजनाले झापाबाट कोशी काटेर पूर्व छिरे ओलीलाई पनि कालोमोसो दल्ने घोषणा नै गरेका छन् ।
टिप्पणीहरू