इजरायल उडेको २५० सिटको विमानमा यताबाट २६ जनाको टोली

इजरायल उडेको २५० सिटको विमानमा यताबाट २६ जनाको टोली

इजरायलमा रहेका नेपाली विद्यार्थी ल्याउन नेपाल वायुसेवा निगमको वाइडबडी विमान काठमाडौंबाट उडेको छ । निगमको ९ एन एएलजेड कल साइन भएको विमान बिहान ४ बजेर ४ मिनेटमा काठमाडौंबाट दुबई ट्रान्जिट हुँदै इजरायल गएको छ ।

उक्त विमान काठमाडौंबाट दुबईसम्म नियमित उडान तालिकाअनुसार यात्रु लिएर गएको हो । त्यहाँबाट तेलअभिभ र पुनः काठमाडौंसम्म निगमको विमानले चार्टर गर्न लागेको हो ।

परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र मन्त्रालयका सहसचिव शरदरराज आरन पनि सोही उडानमा दुबई हुँदै इजरायल गएका छन् । नियमित र चार्टर उडानका लागि क्याप्टेन, एअरहोस्टेस, स्टेवार्ड, प्राविधिकलगायत कर्मचारी गरेर दुई दर्जनबढी उडान दलका सदस्य पनि त्यता गएका हुन् ।

तीमध्ये १० जना नियमित उडानका लागि खटाइएका हुन् । अन्य १६ जना दुबई–तेलअभिभ–काठमाडौं चार्टर उडानको निम्ति त्यता गएको निगम स्रोतले बताएको छ । गएराति दुबईसम्मको उडान क्याप्टेन सञ्जय पौडेलको नेतृत्वमा भएको छ । त्यसपछिको चार्टर उडान क्याप्टेन श्रवण रिजालको नेतृत्वमा गर्न लागिएको हो ।

विमानमा २५० सिट मात्रै भएकाले बाँकी विद्यार्थी इजरायलस्थित नेपाली दूतावासको संयोजनमा विभिन्न रुटबाट काठमाडौं फर्काउन लागिएको छ । त्यहाँबाट स्वदेश फर्कन झण्डै चार सय जनाले नाम दर्ता गराएको दूतावासले जनाएको छ ।
 

टिप्पणीहरू