मोदी कालापानी गएपछि एमाले विद्यार्थीहरु रुष्ट, सीमामै पुगेर प्रतिवाद गर्ने चेतावनी
नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हिजो भएको कालापानी क्षेत्रको भ्रमणको विरोध गरेको छ ।
अध्यक्ष समिक बडालले आज विज्ञप्ति जारी गर्दै मोदीसहित उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीलगायतका उच्च अधिकारीहरु नेपाली भूमि कालापानी क्षेत्रमा पुगेकोमा कडा निन्दा गरेका हुन् ।
‘२०७७ जेठ ७ गते केपी ओली नेतृत्वको सरकारले उल्लेखित भूमि समेट्दै नेपालको नक्सासमेत जारी गरिसकेको परिस्थितिमा वर्तमान सरकारले देखाएको भारत परस्त कार्यशैलीको कडा निन्दा गर्दछौं’, जारी विज्ञप्तिमा उल्लेख छ ।
अनेरास्ववियुले मातृभूतिको रक्षाका निम्ति तत्काल भारत सरकारसँग प्रभावकारी ढंगले कुटनीतिक समन्वय गर्दै घटनाबारे थप पहलकदमी लिन सरोकारवालासँग माग गरेको छ । त्यस्तै, भारतलाई नेपालको सार्वभौमिकताको सम्मान गर्दै हेपाहा प्रवृत्ति नदेखाउन अनेरास्ववियुले अनुरोध गरेको छ ।
अनेरास्ववियुले भारतद्धारा भइरहेको सीमा मिचाहा प्रवृत्ति नरोकिएमा सीमामै गएर कडा प्रतिवाद गर्ने चेतावनीसमेत दिएको छ ।
टिप्पणीहरू