धनगढी पुगेपछि प्रधानमन्त्री पूर्व लाग्नुभयो, जसपा अध्यक्ष यादव दक्षिण

धनगढी पुगेपछि प्रधानमन्त्री पूर्व लाग्नुभयो, जसपा अध्यक्ष यादव दक्षिण
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बिहान धनगढी पुगेर विभिन्न कार्यक्रममा सहभागी हुनुभएको छ । श्री एअरलाइन्सको उडानमा बिहान सवा १० बजेको समयमा धनगढी विमानस्थलमा उत्रिएपछि उहाँ लम्की चुहा नगरपालिकातर्फ जानुभएको हो । 

दिउँसो २ बजे धनगढीमा आयोजना हुने समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्नुअघि उहाँ विभिन्न कार्यक्रममा सहमागी भइरहनुभएको छ । प्रधानमन्त्री दाहाल सभाको निम्ति जसपा अध्यक्ष उपेन्द्र यादवसहित एक दर्जन नेता तथा कार्यकर्तासँगै त्यता जानुभएको हो । 

विमानस्थलबाट प्रधानमन्त्री बा. २ झ  ३८९३ नम्बरको सवारी साधनमा लम्की चुहा नगरपालिका ५ चौरतर्फ प्रस्थान गर्नुभएको थियो । त्यहाँ माओवादी पार्टीको सुदूरपश्चिम प्रदेश उपाध्यक्ष स्वर्गीय कृष्ण बडुवालको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभामा हुनुभएको बताइन्छ । 

सोही क्रममा घोडाघोडी नगरपालिका १, सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसको शैक्षिक भवन शिलान्यास र कैलालीको गौरिगंगा नगरपालिका १, चौमालास्थित गौरीगंगा नगरपालिकाको प्रशासकीय भवन उद्घाटन गर्नुभएको छ । 

अब केहीबेरमा धनगढीको चटकपुरस्थित एउटा पार्टी प्यालेसमा गर्न लागिएको समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्ने कार्यक्रम छ  ।

पूर्व उपप्रधानमन्त्री तथा जसपा अध्यक्ष धनगढी विमानस्थलबाट बा.२ झ १९७७ नम्बरको गाडीमा स्थानीय सनलाइट होटल जानुभएको थियो । २ बजेपछि सभालाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।
 

टिप्पणीहरू