बेल्ट एण्ड रोड इनिसिएटिभ मञ्चको शिखर सम्मेलनमा पुटिन, नेपालबाट पूर्वप्रधानमन्त्री र उपप्रधानमन्त्री

बेल्ट एण्ड रोड इनिसिएटिभ मञ्चको शिखर सम्मेलनमा पुटिन, नेपालबाट पूर्वप्रधानमन्त्री र उपप्रधानमन्त्री
सुन्नुहोस्

चीनको राजधानी बेइजिङमा भोलिदेखि बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मञ्चको शिखर सम्मेलन शुरु हुँदैछ । सम्मेलनमा शीर्ष आमन्त्रितहरूको सूचीमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन रहेको बताइएको छ । 

युक्रेनमाथिको आक्रमणपछि पुटिन पहिलो पटक विदेश यात्राको रुपमा आज राति बेइजिङ पुग्ने कार्यक्रम छ । बीआरआईको एक दशकको अवसरमा आयोजना हुन लागेको दुई दिने शिखर सम्मेलनमा हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बान, चिलीका राष्ट्रपति ग्याब्रियल बोरी, केन्याका राष्ट्रपति विलियम रुटो र इथियोपियाका प्रधानमन्त्री अबी अहमद चीन पुगिसकेका छन् । अन्य धेरै मुलुकका उच्चस्तरीय प्रतिनिधिमण्डल बेइजिङ पुग्ने कार्यक्रम छ ।

रुसी विदेशमन्त्री सर्गेई लाभरोभ बेइजिङ पुगेर आजै चिनियाँ समकक्षी वाङ यीसँग वार्ता गरेका छन् । बीआरआई चिनियाँ राष्ट्रपति सि जिनपिङको एउटा प्रमुख विश्वव्यापी परियोजना हो ।

उक्त सम्मेलनमा सहभागी हुन नेपालबाट पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल प्रतिनिधिमण्डलका साथ गएराति चीन प्रस्थान गर्नुभएको थियो । उहाँ राजधानी बेइजिङ पुगिसक्नुभएको छ । त्यसैगरी उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि सरकारी प्रतिनिधिमण्डलका साथ सोही कार्यक्रममा सहभागी हुन काठमाडौंबाट प्रस्थान गर्नुभएको छ । टोलीमा गृहमन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराई, परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राई, विपद् तथा जोखिम न्यूनीकरण प्राधिकरणका अनिल पोखरेल पनि उहाँसँगै चीन गएको बताइएको छ ।

टिप्पणीहरू