इतिहासकार तथा प्रशासक चित्तरञ्जन नेपालीको निधन
नेपाली इतिहासकार तथा प्रशासक चित्तरञ्जन नेपालीको निधन भएको छ । उहाँ ९२ वर्षको उमेरमा आज राजधानीको ओम अस्पतालमा बित्नुभएको हो ।
सामाजिक शास्त्र विषयमा जनरल भीमसेन थापा र तत्कालीन नेपाल नामक ग्रन्थका लागि उहाँले २०१३ सालको मदन पुरस्कार पाउनुभएको थियो । नेपाल भाषामा समेत कलम चलाउनुभएका उहाँको खास नाम नारायणप्रसाद राजभण्डारी हो ।
प्रख्यात इतिहासकार नेपाली केही समय परराष्ट्र मन्त्रालयको सेवामा रहेपछि गृह मन्त्रालयमा सरुवा हुनुभएको थियो । उहाँले नेपाली भाषामा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गर्नुभएको थियो ।
साहित्यकारहरु विजय मल्ल, गोपाल प्रसाद रिमाल, गोविन्दबहादुर मल्ल, श्यामदास वैष्णव उहाँका समकालीन मित्र हुन् । पिता सरदार मेदिनी प्रसाद राजभण्डारी इतिहासकार बाबुराम आचार्यका नजिकका साथी हुनुहुन्थ्यो । नेपालीका कतिपय कविता र ऐतिहासिक लेख रचना शारदा पत्रिकामा प्रकाशित भएका थिए ।
टिप्पणीहरू