मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यविधि, २०८० को मस्यौदा तयार
निर्वाचन आयोगले ‘स्थानीय तहमार्फत मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यविधि, २०८०’ को मस्यौदा तयार पारेको छ ।
मतदाता नामावलीमा नाम दर्ता प्रक्रियालाई सरल, सहज र पहुँचयोग्य तुल्याउँदै निर्वाचनमा कानूनबमोजिम योग्यता पुगेका सबै नेपाली नागरिकको सहभागिता अभिवृद्धि गर्ने प्रयोजनका लागि आयोगले सो मस्यौदा तयार गरेको हो ।
मस्यौदामा कुनै स्थानीय तहले आफ्नो स्थानीय तहको केन्द्र वा वडास्तरबाट नाम दर्ता गर्न इच्छुक भई निर्वाचन कार्यालयमार्फत आयोगमा अनुरोध गरेमा स्थानीय तहको भौतिक स्रोतसाधन र जनशाक्तिको अवस्था हेरी आयोगले अनुमति दिने व्यवस्था गरिएको छ ।
यसरी अनुमति प्राप्त गरेपछि सम्बन्धित स्थानीय तहको केन्द्र वा वडास्तरमै स्थानीय तहमा कार्यरत कर्मचारीमध्येबाट नाम दर्ता अधिकारी र दर्ता कर्मचारी तोकी मतदाता नामावली दर्ता कार्य प्रारम्भ हुने आयोगले जनाएको छ ।
त्यस्तै, कुनै व्यक्तिले मतदाता नामावलीमा नाम दर्ता गराउन चाहेमा अनलाइन प्रणालीमार्फत फाराम भरी सम्बन्धित स्थानीय तहबाट जैविक (बायोमेट्रिक) विवरण दिनका लागि आफुलाई उपयुक्त हुने मिति प्रणालीबाट छनौट गर्न सकिने पनि मस्यौदामा व्यवस्था गरिएको छ ।
जैविक (बायोमेट्रिक) विवरण दिएपछि सम्बन्धित व्यक्तिको स्थायी ठेगानामा नाम दर्ता गरिने र दर्ता भएका व्यक्तिको विवरण अन्तिम मतदाता नामावलीमा प्रकाशन हुने समयमा आयोगमा प्राप्त गरी अद्यावधिकको प्रक्रियामा लैजाने व्यवस्था रहेको आयोगले बताएको छ ।
आयोगले मस्यौदामा रहेका उक्त व्यवस्थालगायतका अन्य विषयहरु थप परिमार्जन वा सुधार गर्न सुझाव दिन चाहने विदेश वा स्वदेशमा रहेका नेपाल नागरिक, सम्बन्धित स्थानीय तह तथा सरोकारवालाहरुलाई आगामी कात्तिक मसान्तभित्र आयोगको इमेल ठेगानामा राय सुझाव उपलब्ध गराउन अनुरोध गरेको छ ।
टिप्पणीहरू