गुडिरहेको हायसको टायर फुस्कियो, ड्राइभर सिकिस्त

गुडिरहेको हायसको टायर फुस्कियो, ड्राइभर सिकिस्त

काठमाडौंबाट झापातर्फ जाँदै गरेको हायस दुर्घटनामा परेको छ । बागमती प्रदेश ०१–००४.क २०७६ नम्बरको हायस उदयपुरको अधेरीमा दुर्घटनामा परेको हो । 

हायसको पछाडितर्फको बायाँ साइडको टायर खुस्केपछि अनियन्त्रित भई सडक छेउको रुखमा ठोक्किएको हो । दुर्घटनामा १८ जना घाइते भएका छन् । 

घाइते हुनेमा इलामको सूर्योदय नगरपालिका वडा नम्बर ९ की ४० वर्षीया रेणुका गौतम, उनको १५ वर्षीय छोरा अनुपम आचार्य, झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर १ का ३० वर्षीय निर्देश भट्टराई, १४ वर्षीया निकिता भट्टराई, सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ का ३९ वर्षीय भीमकुमार खत्री रहेका छन् । 

त्यस्तै, झापाको मेची नगरपालिकाकी ३९ वर्षीया भारती कार्की, १२ वर्षीय संयम कार्की, २७ वर्षीया अञ्जु पोखरेल, मोरङको पथरी नगरपालिकाका १४ वर्षीय निरज निरौला, ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ११ का ४७ वर्षीय विजय तामाङ, पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ६ का ७२ वर्षीय बलवीर विक पनि घाइते भएका छन् । 

धनकुटा नगरपालिका वडा नम्बर ७ का ४७ वर्षीय रञ्जित श्रेष्ठ, १८ वर्षीय रोशन राई, कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १० का ३४ वर्षीय मुकेश चन्द, सुनसरीको ३० वर्षीय विनोद राई, झापाको कन्काई नगरपालिका वडा नम्बर ४ का ३४ वर्षीय प्रनिश श्रेष्ठ, भक्तपुरको सूर्यविनायक नगरपालिकाकी आठ वर्षीया आराध्या दाहाल पनि घाइते भएको प्रहरीले जनाएको छ । 

घाइतेको उदयपुर अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते भएका चालक २३ वर्षीय सागर ठकुरीलाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ ।

टिप्पणीहरू