युद्ध भनेको बलात्कारको अर्को नाम हो ?
पहिला युगोस्लाभियाको भूभाग बोस्निया हर्जगोभिना दक्षिणपूर्वी युरोपमा अवस्थित छ । सन् १९९२ को मार्च ३ मा यो स्वतन्त्र मुलुक बनेको हो । युगोस्लाभियाबाटै छुट्टिएका सर्बिया र क्रोएसिया दुवै यसलाई आ–आफ्नो भूभागमा मिसाएर ठूलो मुलुक बन्न चाहन्थे । बोस्निया र हर्जगोभिना बहुजनजाति बस्ने मुलुक हो । यहाँ ४४ प्रतिशत मुस्लिम छन् भने ३२ प्रतिशत सर्ब र १७ प्रतिशत क्रोएशियाली बस्छन् । सर्बिया र क्रोएसिया दुवैले यहाँ पकड बनाउन अरु जातिको सफाया गर्न थाले । यसरी आन्तरिक जातीय युद्ध र छिमेकी मुलुकसितको युद्धमैदान बन्यो बोस्निया हर्जगोभिना । धेरैभन्दा धेरै मुस्लिम समुदाय यसको मारमा परे । बोस्नियाली मुस्लिम महिला युरोपमा सबैभन्दा राम्रामध्येमा गनिन्छन् । त्यसैले यिनीहरू देशभित्रकै सर्ब र क्रोएसियाइ पुरुष तथा सर्बियाली र क्रोएसियाइ सैनिकको यौन प्यास मेट्ने औजार बन्न थाले । युद्धमा १ लाख बोस्नियाइहरू मारिए । ५० हजार महिला बलात्कृत भए । राष्ट्रसंघीय आयोगका अनुसार कम्तीमा २० हजार बोस्नियाइ महिलालाई बलात्कारको शिकार बनाइयो ।
१५ वर्षीया बुवानिका सर्बियासित जोडिएको बोस्नियाको त्रोसान्ज गाउँमा आमा, बुबा, भाइ र बहिनीसित बस्थिन् । त्रोसान्ज फुका नगरसित जोडिएको गाउँ हो । सन् १९९२ को अप्रिलमा फुकामा पनि हिंसा भड्कियो । गोली चल्ने, बम पड्किने, घरहरूमा आगो लाग्ने जस्ता घटना सामान्य बन्न थाले । बुवानिकाहरू स्कूलबाट फर्कंदा सधैँ चेकपोष्टमा शरीर जाँच्न थालियो । फुकामा युद्ध चर्केपछि त्रोसान्जका स्कूलहरू बन्द हुन थाले । गाउँलेहरू समातिने डरले काँप्न थाले । अरुसरह बुवानिकाको परिवार रातिराति रूखमाथि सुत्न थाले । दिउँसो गाउँले घरैमा बस्थे । जुलाई ३ को दिन बुवानिकाहरू घर पसेका मात्र थिए, सर्बियाइ सेनाले आक्रमण गरे । गाउँमा आतंक मच्चियो, सबैजना ज्यान बचाउन यताउता भाग्न थाले । एकैछिनमा सेनाले गाउँलेलाई घेरे । पुरुषलाई छानीछानी पिट्दै हतियार कहाँ लुकाएका छौ भनेर सोधे । महिला र केटाकेटीलाई खुला चौरमा उभिन लगाए । अनि पैसा र गहना देऊ भन्दै धम्क्याए । त्यसैबीच, गोली चलेको आवाज सुनियो । उनीहरूले अघि नांगै उभ्याइएका पुरुषहरू मारिए होलान् भन्ने बुझे । किनभने उक्त घटनापश्चात बुवानिकाले पितालाई कहिल्यै देखिनन् ।
महिलाहरुलाई अलि परको एउटा होटलनजिक लगियो । सबैलाई पर्खालमा मुख फर्काई लाइन लागेर उभिन लगाइयो । अनि एक–एक जनाको नाउँ लिदै बोलाउन थालियो । ती महिलालाई के गरियो बुवानिकाले चाल पाइनन् तर जब आफ्नो पालो आयो, उनलाई एकजना सैनिक जवानले हात समातेर होटलभित्र लगे । कोठाभित्र पु¥याएर सबै लुगा फुकाल्न भनियो तर उनले मानिनन् । सैनिकले एक लात्ती हानेर पलङमा पछारे । अनि बलात्कार गरे । एकछिनपछि अर्को सैनिक कोठाभित्र पसे । तिनले पनि यौन सन्तुष्टि लिए । त्यसपछि बुवानिकालाई समूहमै बस्न भनियो । एकछिनपछि फेरि दुईजना सैनिकले सोधपुछ गर्नु छ भन्दै उनी र उनकी १९ वर्षकी दिदीलाई लिएर गए । सानो कोठामा एउटा सानो टेबल, दुइटा कुर्सी र एउटा पलङ थियो । त्यहाँ ४ जना सैनिक थिए । उनीहरूले बुवानिकासित गाउँको बारेमा, हतियार लुकाएको नलुकाएको बारेमा सोधे । एक जनाले त कौमार्य गुमाइसकेको छ कि छैन भनेर पनि सोधे । बुवानिकाले हाकाहाकी एकछिन् अघिसम्म आफू कुमारी नै रहेको उत्तर दिइन् । जवाफ सुनेर चारैजना सैनिक गललल हाँसे । अनि उनीहरूले आफ्नो गोप्य अंग छोएर यौनजन्य इशारा गर्न थाले । एक जनाले लुगा फुकाल्न भने । फेरि पनि उनले मानिनन् । त्यसपछि सैनिक उनीमाथि झम्टे । लुगा च्यातेर फालिदिए । अनि पालैपालो चारैजनाले दिदीको सामुन्ने बलात्कार गरे । अनि फेरि दिदीमाथि झम्टिए ।
अब दिदीबहिनीलाई गाडी भएको स्थानमा लगियो । त्यहाँ अरु महिलालाई गाडीमा चढाइसकिएको रहेछ । बुवानिकाको आमा भने छोरीहरूलाई छाडेर जान्न भनी बसिराखेकी थिइन् । उनले आमालाई आफूमाथि भएको अत्याचारबारे बताउनै सकिनन् । गाडीमा बसिरहेका अधिकांश महिलाको ब्यथा एउटै थियो । उनीहरू एकार्कासँग आँखा जुधाउनै सकिरहेका थिएनन् । गाडी नजिकैको नगर अलाड्जास्थित निकोला टेसला सेकेण्डरी स्कूलको कम्पाउण्डमा गएर रोकियो । सबैलाई टेबल कुर्सी नभएको भुइँतलाको कक्षा कोठामा राखियो । उनीहरूलाई सुकुलमा लहरै सुत्न लगाइयो । बन्दी महिलाको सुरक्षार्थ ५ जना सैनिक खटिएका थिए । उनीहरू हरेक रात ५ जनालाई सँगैको अर्को कक्षा कोठामा लिएर जान्थे र बलात्कार गर्थे । नमान्नेलाई बन्दुकको कुन्दाले हानेर घाइते पार्थे र घाइतेमाथि बलात्कार गर्थे । बुवानिका हरेक रात बलात्कृत हुनेमा पर्थिन् किनभने उनी सबैभन्दा कान्छी थिइन् । यसको बावजुद आमाले उनीसित यसबारे कहिल्यै सोधपुछ गरिनन् । उनले पनि आमालाई आफूले दिनहुँ सहेको यातनाबारे बताउन चाहिनन् । कहिलेकाहीँ उनीलगायत कतिपय महिलाको नाउँ पटकपटक बोलाइन्थ्यो । एउटैले कुनै रात ३–४ जनालाई यौन सन्तुष्टि दिनुपथ्र्यो । उक्त स्कूलमा उनीहरू २ हप्ता बन्दी बने ।
पछि फुकास्थित खेलकुद भवनमा लगियो । त्यहाँ अरु गाउँबाट ल्याइएका महिला पनि थिए । पुगेको दिन सबैलाई हल सफा गर्न लगाइयो । उनीहरूलाई सुत्न जिम गर्दा प्रयोग गरिने म्याट दिइएको थियो । हलको अवस्था साह्रै नाजुक थियो । खाना पनि निम्नस्तरको दिइन्थ्यो । फुकामा घरघर गै सेनाले महिलालाई समातेर लान्थे, अनि स्कूल, मस्जिदमा लगेर थुन्थे । रात दिन सामूहिक बलात्कार गर्थे । यहाँसम्म कि आमाकै सामु छोरीहरू र छोरीहरूकै सामु आमाको सतित्व लुटिन्थ्यो । कतिपय राम्री केटीलाई सेनाका हाकिमले त्यो शहरमा बसुञ्जेल पत्नीसरह नै महिनौंदिनसम्म आफूसित सुताउने गरेको पनि उदाहरण छ । बोस्नियामा सर्बहरूको अत्याचार हेरिनसक्नु थियो । मुस्लिम महिलाको स्थिति त झन् बेहाल बनेको थियो । बोस्नियामा सर्वहरूले सके सर्वले क्रोएसियाई सेनाले सके क्रोएसियाईले मुस्लिम महिलामाथि गर्नुसम्म अन्याय गरेका थिए । मुस्लिम महिला ती आततायीबाट बच्न मस्जिदभित्र लुक्न जान्थे । विदेशी सैनिकले लुकेर बसेका मुस्लिम महिलालाई ठाउँका ठाउँ बलात्कार गर्थे ।
विश्वमा जति पनि दंगा फसाद, हिंसात्मक घटना र युद्ध भएका छन् महिलाहरु यौन हिंसाको शिकार नबनेको उदाहरण नै छैन । आफूलाई सच्चा कम्युनिष्ट ठान्ने तत्कालीन सोभियतसंघको लाल सेनाले पनि सन् १९४५ मा जर्मनीको बर्लिन शहर कब्जा जमाउने क्रममा लाखौं महिलाको बलात्कार गरेको आरोप छ । सन् १९४५ को जनवरीदेखि अगस्तसम्म आठ महिनाको दौरान २० लाख जर्मन महिला रुसी सेनाद्वारा बलात्कृत भएको दाबी गरिएको छ । अमेरिकी सैनिक तथा युद्ध इतिहासकार वाल्टर जापोटोस्नी जुनियरले आफ्नो पुस्तक ‘बियोन्ड ड्युटी द रिजन सम सोल्जर्स कमिट एट्रोसिटिज’ मा उक्त घटनाबारे सविस्तार वर्णन गरेका छन् । उनका अनुसार अप्रिल र मे दुईमा मात्र अस्पतालमा भर्ना हुने बलात्कृत महिलाको संख्या १ लाख पुगेको थियो । अस्पताललाई ती बलात्कृत महिलाको गर्भपतन गर्न भ्याइनभ्याइ थियो । रुवाण्डाको जातीय दंगामा होस् वा बंगलादेश निर्माणार्थ गरिएको मुक्ति संघर्षमा होस् वा कोरियाइ युद्ध, भियतनाम युद्ध, प्रथम र द्वितीय विश्वयुद्ध वा अलेक्ज्याण्डरले विश्व विजेता देख्ने सपना बुन्दै सेनाको मार्च अघि बढाएको घटनामा होस् महिलामाथि यौन हिंसा भएकै छ । सेनाले बलात्कारलाई हतियार बनाएकै छ ।
टिप्पणीहरू