माओवादीमा मिसिएका झण्डै डेढ सयलाई प्रचण्डको टीका

माओवादीमा मिसिएका झण्डै डेढ सयलाई प्रचण्डको टीका

हिमाल पारीको जिल्ला मुस्ताङमा विभिन्न पार्टी परित्याग गरी झण्डै डेढ सय नेता-कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 

जनतासँग माओवादी विशेष रूपान्तरण अभियानअन्तर्गत आज आयोजित जिल्ला भेलाका क्रममा स्वतन्त्र सामाजिक व्यक्ति र अन्य पार्टीका नेता-कार्यकर्ता गरी १३५ जना आफ्नो पार्टीमा प्रवेश गरेको माओवादी केन्द्रले जनाएको छ । उनीहरुलाई प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गर्नुभएको थियो । 

नवप्रवेशीहरुलाई स्वागत गर्दै प्रचण्डले आफू नेतृत्वको सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिलाई केन्द्रमा राखेर काम गरिरहेको बताउँदै भ्रष्टाचारविरोधी अभियानले नयाँ उत्साह जगाएको बताउनुभयो ।

'हाम्रो पार्टी नेतृत्वको वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण, सामाजिक न्याय र समृद्धिका पक्षमा काम गरिरहेको छ । यो देशमा सुशासन कायम गर्न, जनताको जीवनमा परिवर्तन ल्याउन, अर्थतन्त्रलाई गति दिन हामीले मात्रै सक्छौं । त्यो इच्छाशक्ति, दृढता र योजना हामीसँग मात्रै छ । सरकार र पार्टीलाई जोडेर परिवर्तनको पक्षमा नयाँ वातावरण सिर्जना गर्न पार्टीले विशेष अभियान सञ्चालन गरिरहेको छ । यसपछि पनि अभियानले निरन्तरता पाउनेछ । हामीले शक्तिशाली पार्टी निर्माण गर्नेछौं', प्रधानमन्त्रीले भन्नुभयो । 

प्रधानमन्त्रीले मुस्ताङको विकास र जलवायु परिवर्तनले ल्याएका नयाँ संकट र जोखिमहरू न्युनिकरण गर्न सरकार गम्भीररूपमा लाग्नेसमेत बताउनुभयो ।

आज बिहान नेपाली सेनाको हेलिकोप्टरमा मुस्ताङ पुग्नुभएका प्रचण्डले पार्टी कार्यक्रममा सहभागी हुनुअघि राष्ट्रिय प्रकृति र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा जोमसोममा आयोजित जलवायु संवाद कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।

टिप्पणीहरू