सडकबाट खसेको ट्याक्सी घरको छानामा बज्रियो, दुई जना सिकिस्त
पाँचथरमा सवारी दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । झापाको बिर्तामोडबाट पाँचथरको ओयामतर्फ गएको को.१ ज ५१३३ नम्बरको ट्याक्सी आज दिउँसो ३ बजेको समयमा हिलिहाङ गाउँपालिका–७, टाहारीमा दुर्घटनाग्रस्त भएको हो ।
दुर्घटनामा याङवरक–३ की ३९ वर्षीया जुनिता लावती, २३ वर्षीया भिमा नुगो, १६ वर्षीय पृथीराज चौहान, २० वर्षीया सुजा लिम्बू, १८ वर्षीया प्रतिक्षा न्यौपाने, झापाको दमक–७ निवासी ४ वर्षीय दिपशन मैनाली र उनकी आमा ३० वर्षीया बिनिता मैनाली घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
घाइतेमध्ये जुनिता लावती र पृथ्वीराज चौहानको अवस्था गम्भीर रहेकाले थप उपचारको निम्ति झापा रेफर गरिएको पाँचथर अस्पतालले जनाएको छ । अन्य घाइतेको जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।
ट्याक्सी अनियन्त्रित भएर सडकदेखि करिब २५ मिटर तल खड्कबहादुर राईको घरको छानामा खसेको थियो । चालक नरेन्द्र न्यौपानेलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू