ज्वालामुखीमा भूकम्पको क्षति, परकम्पपछि स्थानीय त्रसित

ज्वालामुखीमा भूकम्पको क्षति, परकम्पपछि स्थानीय त्रसित
सुन्नुहोस्

आज बिहान गएको भूकम्पले धादिङको ज्वालामुखी गाउँपालिकामा मात्रै आठ वटा घर गोठमा क्षति पुगेको छ । खरीलाई केन्द्रबिन्दु बनाएर बिहान गएको ६.१ म्याग्नेच्युडको भूकम्पले उक्त गाउँपालिकामा मात्रै त्यति क्षति पुगेको बताइन्छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारका अनुसार छ वटा घर र दुई वटा गोठमा क्षति पुगेको विवरण प्राप्त भएको छ । 

भूकम्पले ज्वालामुखी गाउँपालिका–५ कुमलटारीका भक्कि कुमाल, रमेश कुमाल, पुन्टे कुमाल, प्रताप कुमालको ढुंङ्गा माटोले बनेको कच्ची घरको गाहो भत्किएको छ । 

त्यस्तै वडा नम्बर ७ चैनपुरबेसीमा दल बहानुर दनई र वडा नम्बर ५ मा कृष्ण बहादुर कुमालको ढुङ्गामाटोले बनेको घरको गाह्रो पनि भत्किएको छ । वडा नम्बर १ माझीटारमा मंगलसिंह माझीको गोठ, वडा नम्बर ५ मा सरस्वती लामिछानेको ब्लकले बनेको बाख्राको खोरमा पनि क्षति पुगेको प्रहरी नायव उपरीक्षक जैसवारले जानकारी दिए ।

स्थानीयका अनुसार ज्वालामुखी–५, बुङकोटघाट सिम्लेमा बलौटे माटो भएको स्थानमा पहिरो गएको छ । गोठ भत्किएर केही पशु चौपाया घाइते भएका छन् । हालसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान पहिलो पटक ६.१ रेक्टरस्केलको भूकम्प गएपछि पटक पटक पराकम्प गएको थियो । बिहान ८.०८ बजे ४.२ म्याग्निच्युडको, ८ बजेर २८ मिनेटमा ४.३ र ८ः५९ मा ४.१ म्याग्निच्युडको पराकम्प गएको केन्द्रले जनाएको छ । लगातारको पराकम्पछि स्थानीय त्रसित बनेका हुन् ।

टिप्पणीहरू