डाक्टर नहुँदा जिल्ला अस्पतालमा दुई महिनादेखि शल्यक्रिया ठप्प

डाक्टर नहुँदा जिल्ला अस्पतालमा दुई महिनादेखि शल्यक्रिया ठप्प
सुन्नुहोस्

हिमालपारीको जिल्ला मुस्ताङको जिल्ला अस्पतालमा शल्यक्रिया सेवा ठप्प भएको छ । अस्पतालका वरिष्ठ चिकित्सक सरुवा भएर गएपछि विगत दुई महिनादेखि सेवा प्रभावित भएको हो । 

अस्पतालमा कार्यरत नवौं तहका एमडिजिपी चिकित्सक डा.मुखिया घलेको सरुवा भएपछि शल्यक्रिया रोकिएको निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. तेजास नेपालले बताए । 

‘उहाँ मनाङ अस्पतालबाट सरुवा भएर यहाँ आउनुभएको थियो । सरुवा भएकै दुई महिना हुन लागिसकेको छ । अर्को व्यवस्था हुन सकेको छैन् । यहीका स्थानीयलाई सेवा दिन सकिएको छैन्, पर्यटकहरुको चाप पनि उत्तिकै छ । निकै नै कठिनाई भएको छ’, उनले भने । 

डा. घलेभन्दा अगाडि डा. कुन्दन कर्णले शल्यक्रिया सेवा दिँदै आएका थिए । दुवै डाक्टरले प्रसुति शल्यक्रियासँगै अन्य शल्यक्रिया सेवा पनि दिने गरेका थिए । विसंं.२०३१ सालमा स्थापना भएको अस्पतालमा शल्यक्रिया सेवा सुचारु गरेको धेरै भएको छैन् । 

जिल्ला अस्पताल स्थापनाको ४८ वर्षपछि शल्यक्रिया सेवा थालिएको हो । १५ शैय्याबाट शुरु गरिएको अस्पताललाई प्रदेश सरकारको सहयोगमा स्तरोन्नति गरेर २५ शैय्याको बनाइएको छ । 

अस्पतालमा सामान्य शल्यक्रिया र प्रसुति शल्यक्रियाका लागि प्रदेश सरकारले आवश्यक उपकरण र तालिमहरु सञ्चालन गर्दै आएको छ । यद्यपि, दुई वर्ष नबित्दै पटकपटक सेवा अवरुद्ध भएको स्थानीयको गुनासो छ । 

उपकरण भएपनि चिकित्सक नहुँदा सास्ती खेप्नुपरेको उनीहरु बताउँछन् । जिल्ला समन्वय समिति, मुस्ताङका उपप्रमुख आइतेलाल थकालीले चिकित्सक ल्याउन पहल भइरहेको जानकारी दिए । 

‘डाक्टर नहुँदा सेवा रोकिएको छ । हामीले कोसिश गरिराखेका छौं । तर, सकेका छैनौं । दुर्गम ठाउँमा दक्ष चिकित्सक नहुँदा बिरामीले धेरै खर्च गरेर उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता छ’, उनले भने ।  

यता, अस्पतालका डार्क रुम अधिकृत भोजराज रेग्मीले बिरामीलाई रिफर गर्नुबाहेकको विकल्प नभएको बताए । उनी भन्छन्,‘बिरामीलाई सेवा दिन मन हुन्छ तर विशेषज्ञ नै छैनन् । त्यसैले बाहिर रिफर गर्नुपर्छ ।’
 

टिप्पणीहरू