‘भर्खर २७ वर्ष पुगेँ जस्तो लाग्छ !’ : केपी ओली
पार्टीको विधानबाट ७० वर्षे उमेरहद निलम्बन गराएर पुनः नेतृत्व लिने तरखरमा रहनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू अझै २० वर्ष राजनीतिमा रहने बताउनुभएको छ ।
आज पोखरामा आयोजित गण्डकी प्रदेश अधिवेशनबाट निर्वाचित पदाधिकारीको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले त्यसो भन्नुभएको हो । यद्यपि त्यतिञ्जेल पदमा बस्ने वा नबस्ने भन्नेचाहिँ बेग्लै कुरा हुने ओलीको भनाई छ ।
आफू अहिले पनि १८ घण्टा काम गर्ने उल्लेख गर्दै ओलीले शरीर जस्तो बनायो त्यस्तै हुँदै जाने बताउनुभयो ।
‘म लगभग १८ घण्टा काम गर्छु । आज पनि यहाँ आउँदाआउँदै एकछिन आराम गरेँ । किनभने मैले राति आराम गरेकै थिइनँ । त्यसैले मौका मिलेको बेलामा एकछिन आराम गरौँ भने त भनेर बसेर आराम गरेँ थोरै । थोरै आराम गरेपछि फेरि रिफ्रेस भइहाल्छ । ठीक भइहाल्छ,’ उहाँले भन्नुभयो ।
७२ वर्ष पुगिसक्नु भएका ओलीले आफ्नो सक्रियतालाई जोड्दै ठट्यौली पारामा भन्नुभयो, ‘७ र २, सत्ताइस जस्तो लाग्छ ।’
टिप्पणीहरू