पानीको जारमा पेट्रोलको गन्ध, बिरामी परेपछि उजुरी

पानीको जारमा पेट्रोलको गन्ध, बिरामी परेपछि उजुरी
सुन्नुहोस्

जारको पानी पिउँदा एक जना युवक बिरामी परेका छन् । जारको पानी पिएपछि बान्ता हुने, पेट दुख्नेजस्ता समस्या भएपछि धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १, वकिलचोक बस्दै आएका इन्द्रजीत गोइतले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा उजुरी दिएका हुन् । 

जनकपुरमा भाडामा बसेर अध्ययन गर्दै आएका गोइतले अस्ति राति नजिकैको एउटा किराना पसलबाट जारको पानी किनेर ल्याएका थिए । उक्त पानी पिएपछि पेट दुख्नुका साथै बान्ता हुन थालेपछि त्यतिबेलै मेडिकल पुगेको उनले बताए ।

‘बेलुकी जारको पानी किनेर ल्याएँ अनि पिए । त्यसको एकछिनपछि त मलाई पेट दुख्ने, बान्ता हुने भयो । सहनै नसकेपछि मेडिकल पुगेर औषधि ल्याए । अनि बल्ल आराम भयो । बिहान उठेर पानी सबै सफा बाल्टिनमा खन्याए । जारबाट पेट्रोलको गन्ध आयो । पेट्रोल हालेको जार सफा नगरी पानी हालेको रहेछ’, उनले भने । 

पसलमा पुगेर सोधपुछ गर्दा उनले ‘प्रियजल कम्पनी’ को पानी रहेको थाहा पाएका थिए । त्यसपछि हिजो विभागमा उजुरी दिएका हुन् । उजुरीमा भनिएको छ, ‘उपरोक्त सम्बन्धमा प्रियजल पानी किन्दा अस्वाभाविक गन्ध पाएकोले सो सम्बन्धमा छानबिन गरिदिन अनुरोध गर्दछु ।’

टिप्पणीहरू