गोली लाग्दा पनि नढल्ने टेडी बियरका न्वारनकर्ता राष्ट्रपति
टेडी बियर अर्थात् मुलायम र भुवादार खेलौना ‘भालु’ । के बच्चा, के युवती सबैको प्यारो । अझ आजभोलि प्रेम प्रस्ताव राख्दा पनि गुलाफको फूल होइन टेडी बियर नै उपहार दिने चलन छ तर धेरैलाई थाहा नहुन सक्छ, यो खेलौनाको नाउँ एकजना अमेरिकी राष्ट्रपतिको नामसँग जोडिएको छ ।
थियोडोर रुजबेल्टलाई सबैले टेडी भनेर चिन्छन् । सन् १९०१ मा चुनिएका २६औं राष्ट्रपति । उपराष्ट्रपति र त्योभन्दा पनि अघि न्युयोर्क शहरको मेयर । सन् १९०४ र १९०५ को रुस–जापान युद्धमा मध्यस्तता गर्ने सफल प्रयासले उनलाई १९०६ को नोबेल शान्ति पुरस्कार दिलायो, नोबेल पुरस्कार जित्ने पहिलो अमेरिकी उनी रिपब्लिकन पार्टीका नेताहरूको चर्को विरोधका बावजुद वामपन्थी नीतिलाई अघि सार्ने राष्ट्रपति थिए ।
सन् १९०२ मा शिकार खेल्न मिसिसिसिपीको जंगल पसे । त्यसो त स्वयं अमेरिकी सरकारले शिकार खेलमा प्रतिबन्ध लगाएको थियो । तर, राष्ट्रपतिलाई कसले छुने ? उनी अगाडिका राष्ट्रपतिलगायत राजनीतिक दलका नेता पनि कानुनलाई लात मारी त्यसरी नै जाने गरेकाले रुजबेल्टले पनि लोकप्रिय सो ‘खेल’ लाई निरन्तरता दिएका हुन् । किनभने शिकार खेललाई तात्कालीन समाजमा सम्भ्रान्तहरूको हक नै मानिन्थ्यो ।
मिसिसिपीको ‘डे सोतो नेशनल फरेस्ट’ १२ लाख एकडमा फैलिएको ठूलो र घना जंगल हो । सहयोगीहरूको साथमा जंगल पसेका रुजबेल्टले ३ दिन जंगलमा बिताइसक्दा पनि कुनै जनावर मार्न सकेनन् । त्यतिञ्जेलसम्म उनी शिकार खेल्न गएको समाचार सर्वत्र फैलिसकेको थियो । एउटा पनि शिकार गर्न नसकेको जनताले थाहा पाए भने राष्ट्रपतिको इज्जतमा धक्का लाग्ने निश्चित थियो । यसबाट उनका सहायक होस्ट कोलिएर निकै चिन्तित बने र नक्कली भालुको व्यवस्था गरी डोरीले रूखमा बाँधिदिए । योजना थियो, नक्कली भालुलाई रुजबेल्टले बन्दुक चलाएर मारेको फोटो खिचेर प्रचार गर्ने । उनको योजनामुताबिक रुजबेल्ट भालुलाई मार्न अघि सरे पनि तर खेलौना भालुमा देखिएको निर्दोषिताका कारण गोली चलाउन मानेनन् ।
रुजबेल्ट खाली हात जंगलबाट फर्के । यो घटनालाई लिएर त्यहाँका पत्रपत्रिकाले अनेक कथा हाले । रुजबेल्टले भालुको शिकार गर्न अस्वीकार गरेको कुरालाई लिएर उनको ठूलै प्रशंसा भयो, कतिपयले त कार्टुन नै छापे । वासिंगटन पोष्टमा कार्यरत कार्टुनिष्ट क्लिफोर्ड बेरिमैनको कार्टुनले सबैभन्दा बढी चर्चा बटुल्न सफल भयो । नोभेम्बर १६ मा छापिएको उक्त कार्टुनमा रुजबेल्ट शिकार खेल्दा लगाउने पोशाकमा भालुलाई पिठ्युँ देखाएर उभिएका थिए । यो कार्टुनको कारण नागरिकले उनलाई निकै दयालु ब्यक्तिको रूपमा लिन थाले । कार्टुनले निकै चर्चा कमाएपछि न्युयोर्कका एकजना चकलेट बेच्ने पसले मोरिस मिकटमकी पत्नी रोज मिकटमले नरम भुवादारयुक्त एउटा खेलौना भालु बनाइन् ।
मिकटम दम्पतीले रुजबेल्टसँग भेटेरै खेलौना उपहार दियो, साथै उक्त खेलौना भालुको नाम टेडी राख्न अनुमति माग्यो । अनुमति पाएसँगै खेलौना ‘भालु’ को नाम टेडी बियर रहन पुग्यो । मिकटमले अलग्गै कम्पनी खोलेर टेडी बियरको ब्यापार शुरु गरे । साथै बिश्वका अन्य भागमा पनि टेडी बियर बन्न थाले । जसले बनाए पनि खेलौनाको नाम ‘टेडी बियर’ राखियो । यो खेलौना संसारभरि प्रसिद्ध बन्यो । टेडी बियरको प्रसिद्धी यहाँसम्म पुगिसक्यो कि आजभोलि हरेक साल १० फ्रेबुअरीको दिन ‘टेडी डे’ मनाइन्छ । रुजबेल्टले भालुको शिकार गर्न अस्वीकार गरेको एक सय वर्ष बितेको अवसरमा सन् २००२ देखि रुजबेल्टकै शहर रोलिङ फोर्कमा यो दिवस मनाउन थालिएको छ । दिवसमा ठूलो टेडी बियरको मूर्ति स्थापना गर्ने र युवायुवतीबीच मायाको चिनो स्वरूप खेलौना भालु साटासाट गर्ने गरिन्छ ।
अहिलेका अमेरिकी राष्ट्रपतिको मुख्य निवास ह्वाइट हाउसको नाम पनि उनै थियोडोर रुजबेल्टले राखेका हुन् । सन् १९०१ देखि १९०९ सम्म राष्ट्रपति भएका उनको सन् १९१२ मा हत्याको प्रयास भयो । उनी चुनावको प्रचारप्रसारमा थिए । पेशाले हजामको काम गर्ने एकजना चेक आप्रवासी जोन श्रांकले मात्र ७ फुट टाढाबाट हानेको गोली रुजबेल्टको छातीमै लाग्यो । तैपनि उनी ढलेनन् । भाषण दिइरहे । हत्यारालाई सुरक्षाकर्मीले समातिसकेपछि पनि उनले जनतालाई संयमित रहन आग्रह गरिरहे । उनले उक्त आग्रह नगरेको भए श्रांक भीड्द्वारा मारिन्थे । सबैले अस्पताल जान आग्रह गरे तर उनले निर्धारित भाषण गरिरहे । गोली लागिसकेपछि उनी भन्दै थिए ‘साथीहरू, म सम्भव भएसम्म तपार्ईंंहरूलाई शान्त रहन अनुरोध गर्दै छु ।
तपाईंहरू सबै जनाले थाहा पाउनुभयो कि भएन मलाई थाहा छैन कि मलाई गोली लागिसकेको छ । तर, बुल मस्क (ठूलो टाउको, छोटो घाँटी र छोटो, मोटो खुट्टा भएका गोरु ) लाई मार्न अलि धेरै समय लाग्छ ।’भनिन्छ, गोली लागेपछि पनि उनले ९० मीनेट भाषण गरे । अस्पताल लगिएपछि एक्सरे गर्दा गोली छातीको मांशपेशीमा अड्किएको पाइयो । फोक्सोको भित्री तहसम्म पुगेको रहेनछ । चिकित्सकले गोली झिक्दा भन्दा सोही स्थानमा रहन दिए कम जोखिम हुने निश्कर्ष निकाले । रुजबेल्टको शरीरमा उक्त गोली आजीवन रह्यो । उनको निधन सन् १९१९ मा मात्र भएको हो ।
सन् १९३३ मा अमेरिकामा फेरि रुजबेल्ट राष्ट्रपति निर्वाचित भए तर थियोडोर होइन फ्रेन्कलिन डेलानो रुजबेल्ट । थियोडोर २६औं थिए भने फ्रेन्कलिन ३२ औं । अमेरिकामा जति पनि राष्ट्रपति बने प्रायःले बढीमा २ कार्यकाल सरकार चलाए तर फ्रेन्कलिन मात्रै त्यस्ता राष्ट्रपति हुन्, जसले ४ कार्यकाल शासन गरे– सन् १९३३ देखि सन् १९४५ सम्म । त्यो पनि अपांग भैसकेपछि । रुजबेल्टलाई राजनीतिप्रति ठूलो चाख थियो । यो सपना २८ वर्षको उमेरमा पूरा भयो, जब न्युयोर्क नगरबाट सांसदमा चुनिए । उनको निर्वाचन क्षेत्रबाट यसअघि सधैँ रिपब्लिकनले नै जित्ने गथ्र्याे तर पहिलो पटक उनी डेमोक्रेटिक पार्टीबाट निर्वाचित बने । राजनीतिमा प्रगति गर्दै जाने क्रममा सन् १९२० मा उपराष्ट्रपतिको उम्मेदवार बने तर पराजित भए ।
सन् १९२१ मा क्याम्पोबेल्लो टापुमा छुट्टी मनाइबसेका थिए, अचानक बिरामी भए । ज्वरो आउने, चेतनशून्य हुने, आन्द्रा र मुत्राशय सुन्निने र कम्मरमाथिको भाग चल्न छोड्ने । उपचार लगातर चल्यो तर दुर्भाग्य उनी अपांग बने, दुबै खुट्टा चल्न छोड्यो । उनलाई पोलियोले डस्यो । विपक्षी रिपब्लिकन पार्टीका नेताहरूले सन्तोषको स्वास फेरे । अब रुजबेल्टको राजनीतिक क्यारियर सकियो भन्दै रमाए । स्वयं आमा र पत्नी एलेनोर पनि रुजबेल्ट आइन्दा सार्वजनिक कार्यक्रममा जान नसक्ने भएकोमा दुःखी नै थिएनन् तर रुजवेल्ट र अनन्य मित्र लुइस हुवे भने पक्षघातको बावजुद राजनीतिलाई तिलाञ्जली नदिने निर्णयमा पुगे । रुजबेल्ट ह्वील चेयरमा बसेर पार्टी कार्यालय जान र आमनागरिकलाई आफू ठीक हुँदै छु भनेर आश्वस्त तुल्याउन थाले ।
उनी न्युयोर्कलगायत जर्जियामा पनि सक्रिय भए । उनले सन् १९२४ र १९२८ को निर्वाचनमा जोशिलो भाषण दिए । यसबखत डेमोक्रेटिक पार्टी बिभाजित भएकाले निकै कमजोर बन्दै गइरहेको थियो । यसको बावजुद रुजबेल्टले सन् १९२९ मा सम्पन्न न्युयोर्कको गभर्नरमा बाजी मारे । र, अर्को राष्ट्रपतीय निर्वाचनमा जितेर देखाए । रिपब्लिकनले रुजबेल्टको विकलांगताको खिल्ली उडाए, शारीरिक कमजोरीबाट फाइदा उठाउन सम्म उठाए तर जनताले रुजबेल्टलाई नै पत्याए । त्यो पनि एक–दुई पटक होइन चार–चार पटक, लगातार ।
चेन स्मोकर (सधैं मुखमा सिगार च्यापेर बसिरहने बानी परेका) उनको निधन सन् १९४५ मा भयो । उनको निधनपश्चात अमेरिकी संविधानमा संशोधन गरियो र कुनै पनि व्यक्ति दुई पटकभन्दा बढी कार्यकाल राष्ट्रपति बन्न नपाउने गरियो । दोस्रो विश्वयुद्ध कालमा अमेरिकाको राष्ट्रपति उनै थिए । शारीरिक बिकलांगताको बावजुद क्रिमिया नजिकको याल्टा पुगेर शान्ति सम्झौतामा सहभागी बने ।
टिप्पणीहरू