दुर्गा प्रसाईं र महेश बस्नेतको एकै दिन शक्ति प्रदर्शन
विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं र एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले एकैदिन शक्ति प्रदर्शनको तयारी गरेका छन् ।
बस्नेतको अगुवाईमा एमालेको भ्रातृ संगठन युवासंघका कार्यकर्ताले राजधानीमा प्रसाईंलाई कालोमोसो दलेपछि आमनेसामने भएका यी दुईले सडकमा आफ्नो शक्ति देखाउन लागेका हुन् । आगामी ७ गते दुवै समूहले राजधानीको सडकमा कार्यकर्ता उतार्ने घोषणा गरेका छन् ।
युवासंघले भ्रष्टाचार, महँगी, अनियमितता तथा राज्यको अराजकताविरुद्धको जनप्रदर्शनमा ५० हजार युवा सडकमा आउने दाबी गरेको छ । व्यवस्थाकै विरोधमा रहेका प्रसार्इंले पनि पाँच लाख जनता काठमाडौँमा उतारेर सिंहदरबार घेर्ने चेतवानी दिएका छन् । दुबै पक्ष शक्ति प्रदर्शनको तयारीमा लागेपछि मंसिर ७ गते भिडन्तको अवस्था निम्त्याउने खतरा देखिएको छ ।
यसैबीच एमालेले विशेष बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा भोलि दिउँसो १ बजे बस्नेगरी बैठक डाकिएको हो । जनसंगठनका पदाधिकारी र काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरु बैठकमा उपस्थित हुने एमालेले जनाएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने बैठकमा पछिल्लो राजनीतिक गतिविधि र युवासंघको प्रदर्शनका बारेमा छलफल हुने केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिएका छन् ।
यता, प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले पनि ७ गतेको कार्यक्रम सफल बनाउन प्रचार–प्रसार तीब्र पारेको छ । विभिन्न जिल्लामा सम्पर्क व्यक्ति र तोकेर आर्थिक संकलन समेत व्यापक बनाइएको छ ।
प्रसाईं एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नै भान्सामा मार्सी चामलको भात खुवाएको फोटो सार्वजनिक गरेर चर्चामा आएका पात्र हुन् । ओलीलाई हजुरबा भनेर बोलाउने उनी पार्टी सदस्यता नै नलिई एकैचोटि एमालेको केन्द्रीय सदस्य बनेका थिए । तर, झापामा गत वर्षको चुनावमा उठ्न चाहेका उनलाई हजुरबाले जिल्याइदिएपछि एमाले छाडेर राजावादी आन्दोलनमा लागेका हुन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहलाई गद्दीमा फर्काउने भनिए पनि प्रसाईंको आन्दोलन मूलतः बैंक तथा वित्तीय संस्थाविरुद्ध लक्षित देखिन्छ । आफूमाथि कालोमोसो दलेपछि पछिल्लो समय उनी एमाले नेताहरुप्रति बढी आक्रामक छन्
टिप्पणीहरू