एमाले र दुर्गा प्रसाईंको आन्दोलन घोषणालगत्तै सिंहदरबारमा केन्द्रीय सुरक्षा समिति बैठक

एमाले र दुर्गा प्रसाईंको आन्दोलन घोषणालगत्तै सिंहदरबारमा केन्द्रीय सुरक्षा समिति बैठक

गृह मन्त्रालयमा आज केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ । साँझ साढे ५ बजेदेखि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको बताइएको छ ।

आजै एमालेले भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले मंसिर ७ गते गर्न लागेको जनप्रदर्शनको स्वामित्व लिएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको आज जनसंगठनका पदाधिकारी र काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरुको बैठकले आगामी बिहीबारको प्रदर्शनको जिम्मेवारी लिने निर्णय गरेको बताइन्छ । प्रदर्शनमा एमालेले सबै शक्ति केन्द्रित गर्ने बताएको छ । 

उता विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पनि आगामी बिहीबार शक्ति प्रदर्शन गर्ने भएका छन् । युवा संघ र प्रसाईंको बृहत नागरिक मुक्ति आन्दोलनले एकै दिन राजधानीको माइतीघर केन्द्रित आन्दोलन गर्ने घोषणा गरेपछि सर्वत्र सुरक्षाको चासो बढेको हो ।

सोही सन्दर्भमा आज साँझ गृह मन्त्रालयमा बसेको बैठकमा गृह सचिव दिनेश भट्टराई, रक्षा सचिव किरणराज शर्मा, नेपाली सेनाका रथी सिताराम खड्का, नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापालगायतको उपस्थिति रहेको बताइन्छ ।

टिप्पणीहरू