सम्भावित अराजक गतिविधिप्रति मध्यनजर, गृह मन्त्रालयमा बैठक तारन्तार

सम्भावित अराजक गतिविधिप्रति मध्यनजर, गृह मन्त्रालयमा बैठक तारन्तार
सुन्नुहोस्

केन्द्रीय सुरक्षा समितिको बैठक सम्पन्न भएको २४ घण्टा नबित्दै काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाका सिडिओ र प्रहरी प्रमुखहरुलाई गृह मन्त्रालयमा बोलाएर रिपोर्टिङ लिइएको छ । 

राजसंस्था फर्काउने अभियानमा रहेका दुर्गा प्रसाईं र नेकपा एमालेको भ्रातृ संस्था युवासंघले एकैदिन काठमाडौँमा शक्ति प्रदर्शनको तयारी गरेपछि सम्भावित सुरक्षा चुनौतीबारे सुरक्षा निकायका प्रमुखहरुसँग सरकारले लगातार छलफल गरेको छ । हिजो साँझ उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा सुरक्षा समितिको बैठक बसेको थियो भने आज गृह सचिव दिनेश भट्टराईले थप छलफल गरेका हुन् ।  

आज दिउँसो मन्त्रालयमा बसेको सुरक्षा सम्बन्धी बैठकमा काठमाडौंका सिडिओ जितेन्द्र  बस्नेत, भक्तपुरका रोशनीकुमारी श्रेष्ठ र ललितपुरका रुद्रप्रसाद पण्डित सहभागी थिए । त्यस्तै, काठमाडौँ प्रहरी परिषदका एसएसपी भुपेन्द्र खत्री, सशस्त्र प्रहरी ललितपुरका एसपी सुमनजंग थापा, कीर्तिपुरका एसपी उद्धव रावल र भक्तपुरका एसपी दिनेश महतको पनि बैठकमा उपस्थिति थियो । 

गृहसचिव भट्टराईको अध्यक्षता बसेको बैठकमा मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराई पनि सामेल थिए । त्यस्तै, हिजो साँझ मन्त्रालयमै सुरक्षा समितिको बैठक बसेको थियो । गृहमन्त्री श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा गृह सचिव भट्टराई, रक्षा सचिव किरणराज शर्मा, नेपाली सेनाका रथी सिताराम खड्का, नेपाल प्रहरीका आइजी वसन्त कुँवर, सशस्त्र आइजी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापालगायत उपस्थित थिए । 

एमालेका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका विवादास्पद मेडिकल व्यवसायी प्रसाईंले आगामी बिहीबार शक्ति प्रदर्शन गर्ने तयारी गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहलाई गद्दीमा फर्काउने भनिए पनि बैंक तथा वित्तीय संस्थाको ऋण मिनाहा गराउने प्रसाईंको अभियान रहेको बताइन्छ । पछिल्लो समय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता महेश बस्नेतसँग टक्कर गरिरहेका उनले पाँच लाख जनता काठमाडौँमा उतारेर सिंहदरबार घेर्ने दाबी गरेका छन् । 

यता, प्रसाईंलाई चुनौती दिन एमालेले पनि त्यहि दिन ५० हजार युवा–विद्यार्थी काठमाडौँका सडकमा ओराल्ने घोषणा गरेको छ । आपसमा टकराएका यी दुई समूह एकैदिन सडकमा उत्रिन लागेपछि उपत्यकाको सुरक्षा संवेदनशीलतालाई लिएर सर्वत्र चासो र चिन्ता छ ।

टिप्पणीहरू