अष्ट्रेलियालाई छैठौं पटक विश्वकप क्रिकेटको उपाधि

अष्ट्रेलियालाई छैठौं पटक विश्वकप क्रिकेटको उपाधि
सुन्नुहोस्

घरेलु मैदानमा भारतलाई स्तब्ध पार्दै अस्ट्रेलियाले एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । 

अहमदावादस्थित नरेन्द्र मोदी रंगशालामा सम्पन्न फाइनल खेलमा अस्ट्रेलिया ६ विकेटले विजयी भएको हो । जितका लागि भारतले दिएको २४१ रनको मध्यम लक्ष्य अस्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । 

४७ रनमा ३ विकेट गुमाएर दबाबमा परेको अस्ट्रेलियाको जितमा ट्राभिस हेडले शतकीय योगदान गरे । मार्नश लाबुेशेनसँग १९२ रनको कीर्तिमानी साझेदारी गरेका उनले १३७ रन बनाए । लाबुेशेन ५८ रनमा अविजित रहे । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारत ५० ओभरमा २४० रन बनाएर अलआउट भएको थियो । पावरप्ले ओभरमा महत्वपूर्ण ३ विकेट गुमाएर दबाबमा परेको भारतका लागि विराट कोहली र केएल राहुलले अर्धशतकीय पाली खेले पनि जितका लागि पर्याप्त भएन ।  उनीहरुले चौथो विकेटका लागि ६७ रनको साझेदारी गरेका थिए ।

एकदिवसीय क्रिकेटमा अष्ट्रेलियाको यो छैठौँ उपाधि जित हो । यसअघि उसले सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा विश्वकप जितेको थियो । भारतले भने दुई पटक विश्वकप जितेको छ । यस प्रतियोगिताभर उत्कृष्ट लयमा देखिएको भारत घरेलु मैदानमा तेस्रोचोटी उपाधि हात पार्ने दाउमा थियो ।

टिप्पणीहरू