विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा अख्तियार

विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा अख्तियार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट फैसला भएका मुद्दाउपर सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । 

आयोगले विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएकामध्ये दुई वटा मुद्दामा चित्त नबुझेपछि पुनरावेदन गरेको हो । आयोगका प्रवक्ता भोला दाहालले सार्वजनिक सम्पत्ति नोक्सानी पुर्याई भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दामा पुनरावेदन गरेको जानकारी दिए । 

झूठा व्यहोराको गलत प्रतिवेदन दिई सरकारी रकम हिनामिना गरेको आरोपमा हिमालय माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छेवाङ लामासहित तीन जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको थियो । विशेष अदालतले गत फागुन २ गते प्रतिवादीहरुलाई आंशिक दोषी ठहर गरेको थियो । 

मागदाबीभन्दा फरक तथा न्यून बिगो कायम गरी कसूर ठहर तथा सजायको फैसला सुनाएपछि त्यसविरुद्ध अख्तियार सर्वोच्च पुगेको हो । त्यस्तै, सामुदायिक वनको उपभोक्ता समितिको रकम हिनामिना गरेको आरोपमा कञ्चनपुरको शहीद स्मृति सामुदायिक वन उपभोक्ता समूह भीमदत्त नगरपालिका–३ तिलकपुरका अध्यक्ष कर्णबहादुर विष्टसहित दुई जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । 

विशेष अदालतको गत चैत्र २८ गतेको फैसलाले प्रतिवादीहरुलाई मागदाबीभन्दा फरक, न्यून बिगो कायम गरी सजाय तथा एक जना प्रतिवादीको हकमा सफाइ दिएको थियो ।  उक्त फैसलाप्रति असन्तृष्टि जनाउँदै अख्तियारले सर्वोच्च गुहारेको हो ।

टिप्पणीहरू