मुलुकको स्वाधीनतामा आँच आउने संवाद हटाउन काठमाडौंका मेयरको निर्देशन

मुलुकको स्वाधीनतामा आँच आउने संवाद हटाउन काठमाडौंका मेयरको निर्देशन

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नेपालको मौलिकता, धर्म संस्कृति, इतिहास, नेपाल र नेपालीको स्वाधीनतामा आँच आउने संवाद र दृश्य प्रशारणमा रोक लगाउन निर्देशन दिएका छन् ।

चलचित्र विकास बोर्डअन्तर्गतको चलचित्र जाँच समितिकालाई चार बुँदे पत्र लेख्दै उनले नेपाल र नेपालीको स्वाधीनता र स्वाभिमानमा आँच आउने खालका संवाद एवम् दृश्य प्रशारणमा रोक लगाउन आग्रह गरेका हुन् । 

त्यस्तै, एक राष्ट्रले अर्को राष्ट्रको बारेमा बनाएका नराम्रा चलचित्रमा रोक लगाउन, कुनै धर्म विशेषले अर्को धर्म विशेषलाई अवहेलना गरेको दृश्य तथा संवादमा निषेध गर्न, जातजाति, वर्ण, समुदाय, लिङ्ग, शारीरिक तथा मानसिक रुपमा फरक क्षमता भएका व्यक्तित्वको स्वाभिमानमा आँच आउने संवाद तथा दृश्यको प्रशारण रोक्न उनले भनेका छन् । 

उनले प्रतिबन्धित दृश्य तथा संवादसहितको चलचित्र प्रदर्शन भएमा महानगरले प्रचलित कानुनबमोजिम कारबाहीको निम्ति आवश्यक कदम चाल्नेतर्फ सचेतसमेत गराएका छन् ।

‘चलचित्रले समाजमा पार्ने सकारात्मक प्रभाव उल्लेखनीय छ र चलचित्रको निर्माण तथा प्रदर्शनमा यस महानगरले सकारात्मक साथ रहने पनि जानकारी गराउन चाहन्छु । प्रतिबन्धित चलचित्रको दृश्य तथा संवादसहितको चलचित्र प्रदर्शनमा आएको खण्डमा यसमा महानगरपालिकाले प्रचलित कानुनबमोजिम आवश्यक कदम चाल्ने व्यहोरासमेत जानकारी गराउन चाहन्छु’, पत्रमा उल्लेख छ ।

टिप्पणीहरू