पाहुनालाई जब पीडा पुग्छ

पाहुनालाई जब पीडा पुग्छ

हरेक देशका आ–आफ्नै भाषा, धर्म, संस्कृति र परम्परा हुन्छन् । एउटै देशभित्र पनि ठाउँअनुसार फरक चालचलन र रीतिथिती हुन्छ, जसको सम्मान पनि गर्नुपर्छ । नेपालको सिमाना जोडिएका दुई छिमेकी मुलुक भारत र चीनकै हेर्ने हो भने भाषा, धर्म, संस्कृति र परम्परा धेरै फरक छ । दुवैतिर केही समानता हुँदा धेरै कुरा फरक पाइन्छ । 

खुला सीमाका कारण आवतजावतमा सहजता हुँदा भारततर्फ भाषा, संस्कृति, खानपान र चाडपर्व मनाउने तौर–तरिकामा धेरै समानता पाइन्छ भने चीनतिर तुलनात्मक रुपमा भिन्नता छ । यसलाई अस्वाभाविक मान्न पनि हुँदैन । तर, एकले अर्काको सांस्कृतिक तथा सामाजिक प्रचलनबारे जानकारी नराख्दा कहिलेकाहीँ खुला हृदयले गरिएको सम्मान पनि अपमान हुन पुग्छ । यस्तै भयो, अघिल्लो हप्ता नेपाल आएका चिनियाँ कम्युनिष्ट पार्टीको सिजाङ अर्थात् नेपालसँग सीमा जोडिएको तिब्बत प्रान्तका सचिव वाङ चिनछेन नेतृत्वको पाहुनालाई नेपालमा गरिएको स्वागत । 

अहिले सयपत्री फूलको मौसम हो, चिनछेन नेतृत्वको टोलीलाई पनि पञ्चकन्याले सयपत्री माला लगाइदिएर स्वागत गरे । सयपत्री फूल हिन्दू धर्म संस्कार र संस्कृतिमा उत्कृष्ट मानिन्छ । तिहारमा यहीँ फूलको अत्यधिक प्रयोग हुन्छ भने भाइटीकामा दाजुभाइलाई दिदीबहिनीले सयपत्रीकै माला लगाइदिन्छन् । पाहुनाको स्वागतमा पनि सयपत्रीको प्रयोग गर्ने चलन छ । तर, त्यहीँ माला कुकुर तिहारको दिन कुनै मानिसलाई लगाइदिने हो भने त्यसको अर्कै अर्थ लाग्न सक्छ । चिनियाँ पाहुनाको हकमा पनि त्यस्तै भयो । 

चीनमा मान्छेको निधनमा सयपत्री र सेता फूलको प्रयोग गर्ने चलन छ । चिनियाँले मान्छेको लास र चिहानमा सयपत्री चढाउने गर्छन् । त्यसैले कतिपय चिनियाँ संस्कृति बुझेका नेपालीले आफ्नो कार्यालयमा आएका चिनछेनलाई लगाइदिएको माला उतिखेरै झिकेर मिल्काइदिए । तर, अधिकांश, जसले यो कुरा बुझेका थिएनन्, त्यहाँ चिनियाँ पाहुना आफैँले आफ्नो घाँटीको माला झिकेको देखियो । निर्दोष र खुला मनले गरिएको भव्य स्वागत खल्लो हुन पुग्यो । 

हुन त यो सामान्य मालाको विषय हो । यसैलाई लिएर चिनियाँले नेपालीको अतिथि प्रेमप्रति शंका नगर्लान् पनि । तर, सन् २०१९ को अक्टोबरमा चिनियाँ राष्ट्रपति सि चिनफिङ नेपाल आउँदा पनि सयपत्रीको माला लगाउन असहज मानेको दृष्टान्त हुँदाहुँदै यसपटक पनि त्यही कुरा दोहोरिनुले भने छिमेकीको सांस्कृतिक संवेदनशीलताप्रति सजगता अपनाउन नसकेको सन्देश गएको छ । त्यति मात्र होइन, यसले नेपालको कूटनीतिक कमजोरी पनि सतहमा प्रकट भएको छ ।

यस घटनालाई शिक्षा मानेर अब भने उच्चस्तरीय विदेशी पाहुना आउँदा कसरी स्वागत सत्कार गर्ने भन्नेतर्फ राज्यको ध्यान पुग्नुपर्छ । अमेरिकी, चिनियाँ, भारतीय, युरोपेली, ल्याटिन अमेरिकी मुलुकका विशिष्ट व्यक्ति नेपाल भ्रमणमा आउँदा उनीहरूका सांस्कृतिक संवेदनाप्रति चनाखो हुनैपर्छ भन्ने पाठ पनि हो यो । नत्र, ‘अतिथि देवो भवः’ को हाम्रो संस्कृति र परम्परा फिक्का हुनेछ ।

 

टिप्पणीहरू