दुर्गा प्रसाईंका समर्थकहरु धमाधम उपत्यका छाड्दै
रिण मुक्ति,हिन्दु राज्य र राजतन्त्र पुनर्बहालीको आन्दोलनमा सहभागी दुर्गा प्रसाईंका पाहुनाले धमाधम काठमाडौं उपत्यका छाडेका छन् । बैंकको ऋण,ब्याज मिनाहा हुने आश्वासनसहित गर्ने आएका आन्दोलनका सहभागीहरु आश्वासन पूरा नहुने छाँट देखेपछि यसरी धमाधम बाहिरिन थालेका हुन् ।
मंसिर ७ गतेको आन्दोलनको निम्ति उनीहरु अघिल्लै दिन काठमाडौं आएका थिए । उनीहरुमध्ये धेरैजसो गौशाला क्षेत्रका होटल,लजमा राखिए भने केहीलाई पार्टी प्यालेसमा बस्ने र खाने व्यवस्था मिलाइएको थियो ।
तीमध्ये न्यू घरेलु होटल गौशालामा बसेकामध्ये झण्डै डेढ सय जना आज बिहान ४ बजेदेखि ७ सम्म निस्केर घर हिँडेको बताइन्छ । आन्दोलनमा तराई मधेशका महिलाको सहभागिता बढी थियो । उनीहरुको हातमा लघुवित्त संस्थाबाट लिइएको कर्जाको कागजात देखिन्थ्यो ।
नजिकैको राज एण्ड राज होटलमा रहेकाहरुले पनि आज साँझ घर फर्कने होटल कर्मचारीलाई बिहानै बताएका छन् । त्यहाँबाट निस्केका प्रसाईंका झण्डै ५० जना समर्थक बाटो खर्च माग्न बिहान पौने ११ बजे उनको निवास,थिमी भक्तपुर पुगेका थिए । उनीहरु बा.४ ख ७१५२ र बा.४ ख ३६ नम्बरको बस रिजर्भ गरेर त्यहाँ गएका हुन् ।
प्रसाईंसँग सामान्य कुराकानी गरेपछि ती सबै मध्यान्ह साढे १२ बजे भक्तपुरबाट आफ्नो घरतिर लागेको बुझिएको छ ।
टिप्पणीहरू