प्रहरीले अनि त्यो जोडीलाई पक्रन सकेन

प्रहरीले अनि त्यो जोडीलाई पक्रन सकेन

पुलिसकै सुराकमा मुख्य आरोपित मृगेन्द्र र विनिता घिमिरे फरार भएको आशंका छ । महिनादिन पहिले नै जिल्ला अदालत लमजुङबाट पक्राउ पुर्जी काटिएको, अनि पीडितहरूले किटानीसहित उजुरी लिएर जिल्ला प्रहरी कार्यालय पुग्दा फलाना फलानाको नाम किन हालेको भन्दै सच्याउन लगाएको हल्लीखल्ली त चलेकै थियो । कालिका सहकारीको मुद्दा हेरिरहेका एक प्रहरीले नै मृगेन्द्र र बिनितालाई सूचना चुहावट गरेर पक्राउबाट जोगाएको चर्चा छ ।

कतिपयको आशंका बाहिरबाट ताला ठोकेर घरभित्र बसेको भन्ने छ, जे भनिए पनि सञ्चालक समितिमा रहेका शिव सिल्वाल, कृष्ण लामिछाने, मिलन दनाई, कृष्ण केसी बेदराज खनियाँ र महेन्द्र पौडेललाई १० गते सखारै पक्राउ गर्दा घिमिरे दम्पति भने उछिट्टिएका छन् । 

कालिका सहकारीको अध्यक्ष आफैँ हुने र श्रीमतीलाई मोटो तलबमा प्रबन्धक बनाउने आशामा थिए मर्ज पूर्वका अध्यक्ष मृगेन्द्र घिमिरे । १२÷१५ हजरमा काम गर्दै गरेकी श्रीमतीको तलब ह्वात्तै बढाएर ४० हजार पु¥याए महिना दिनपहिले । मर्ज भएपछि सोचेजस्तो केही भएन, न श्रीमतीलाई आकर्षक तलब दिन सकियो न त उनको घरमै अफिस राखियो ।

दुईथरी मिलेर एक्लाएको महसुस गरेका मृगेन्द्रले लाखौँ रकम बचत गरेकालाई उक्साएर फिर्ता गर्न लगाए । बजारमा लगानी भनिएको रकम उठेको छैन । बचत गरेकाहरू धमाधम रकम फिर्ताको लागि आएर हत्तु पार्न थालेपछि ०७७ मा मर्जपछि बनेका समितिले कालिकाको पुरानो सबै हिसाब–किताब खोज्न थाले । हिसाब पारदर्शी थिएन । ऋण लगानी गरेकोसम्म देखिन्छ तर ऋणी को भन्ने खुल्दैन । छद्म नाममा प्रबाह गरिएको ऋण लगानी कसरी उठाउने हो केही आधार भएन । मर्ज भएको केही समय उनीहरूबीच खटपट शुरु भयो अनि मृगेन्द्र बूढाबूढी पनि आफूहरूलाई मात्रै करकर गरेको भन्दै सम्पदा र कर्पुरेश्वरका भित्री कमजोरी पत्ता लगाउन थाले । 

ठगीको यथेष्ट प्रमाण सहित रजिष्ट्रारको कार्यालयले मुद्दा दर्ताको लागि फाइल पेश गरेको लामो समयपछि यही १० गते सखारै कालिका सहकारीका अध्यक्ष शिव सिलवाल, उपाध्यक्ष कृष्ण लामिछाने, सचिव कृष्ण केसी, मिलन शर्मा दनाई, प्रबन्धक बेदराज खनियाँ र आर्थिक समितिका महेन्द्र शर्मा पौडेललाई समाती थप अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिनको म्याद थपेर हिरासतमा राखेको छ ।

पक्राउ परेकामध्ये पत्रकार महासंघ लमजुङको पूर्वअध्यक्ष समेत रहेका स्थापित पत्रकार कृष्ण केसीले आफ्नो फेसबुकमा लामो स्टाटस लेख्दै सो संस्थाको आफू सचिव भए पनि आर्थिक रूपले कहीँ–कतै नजोडिएको, संस्थाको हितविपरीत एक सुको अपचलन नगरेको र आफू दोषी भए जस्तोसुकै सजायँ पनि भोग्न तयार रहेको जनाएका छन् । हुन पनि पत्रकार केसी आजसम्म आर्थिक रूपमा मात्रै हैन सामाजिक प्रतिष्ठाको विषयमा कतै चुकेको देखिँदैन । केसी गल्ती नगरेकाले छिट्टै न्याय पाउनेमा आशावादी छन् भने अहिले मृगेन्द्रको घरमा प्रहरीले पहरा दिएको छ ।
 
 

टिप्पणीहरू