पृथ्वी जयन्ती धुमधामसँग मनाउने, हिन्दुराष्ट्र पुनःस्थापनासँगै संघीयता खारेजी गर्ने राप्रपाको निर्णय
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मुलुकको नेतृत्व र शासन व्यवस्था असफल भएको निष्कर्ष निकाल्दै राजसंस्था, हिन्दुराष्ट्रको पुनःस्थापना र संघीयता खारेजीका लागि आन्दोलन आह्वान गरेको छ ।
आज बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठकले आन्दोलनमा सहकार्यका लागि समान विचार राख्ने राजनीतिक दल, संघसंस्था तथा अभियन्तालाई आह्वान गर्ने निर्णय गरेको हो ।
बैठकले राजसंस्था, हिन्दुराष्ट्रको पुनःस्थापना, संघीयता खारेजी एवम् सुशासन र जनजीविकाका पक्षमा आन्दोलन गर्न गठित मस्यौदा समितिको प्रस्तावलाई परिमार्जनसहित पारित गरेको छ ।
सो प्रस्तावलाई आगामी पुस १, २ र ३ गते काठमाडौंमा बस्ने केन्द्रीय कार्य समितिको बैठकमा पेश गरिने बताइएको छ ।
त्यसैगरी पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई सबै तहमा उत्सवको रुपमा मनाउने निर्णय गरेको छ । राप्रपा राष्ट्रियसभाको निर्वाचनमा सहभागी हुने भएको छ । यसका लागि अन्य दलसँग आवश्यक सहयेग जुटाउन, संवाद गर्न पार्टीको राजनीतिक विभाग प्रमुख वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङलाई जिम्मेवारी दिइएको छ ।
त्यस्तै, इलाममा हुने प्रतिनिधिसभाको उपनिर्वाचनलगायत सबै तहको उपनिर्वाचनमा पार्टीको तर्फबाट आवश्यक तयारी, समन्वय र सहजीकरण गर्न उपाध्यक्ष हेमजङग गुरुङलाई जिम्मेवारी दिइएको छ ।
टिप्पणीहरू