कालापानी छेउको जंगलमा आगलागी

कालापानी छेउको जंगलमा आगलागी
सुन्नुहोस्

अतिक्रमित नेपाली भूमि कालापानी नजिक माथिल्लो कौवा क्षेत्रको जंगलमा आगलागी भएको छ । मंसिर पहिलो साताको आगलागीबाट सयौं रुखबिरुवा जलेर नष्ट भएका छन् । भारतीय सैनिक क्याम्प बसेको कालापानीबाट २ किलोमिटर पश्चिमतर्फको जंगलक्षेत्रमा आगलागी भएको हो । 

कौवाक्षेत्रको वनमा नेपाली मजदुरहरूले आगजनी गरेको भारतीय पक्षको आरोप छ । छाङरुको गागामा निर्माण भइरहेको सशस्त्र प्रहरी गुल्म भवनमा संलग्न ठेकेदारका कामदारबाट आगलागी गरिएको आरोप छ । भवन निर्माणमा प्रयोग हुने काठ काट्ने क्रममा कामदारले हेलचेक्र्याइँ गरेको छाङरुका स्थानीय बासिन्दाको समेत भनाइ छ । 

कौवाक्षेत्रको जंगलमा त्रिपाल टाँगेर हप्तौंदेखि बस्दै आएको मजदुरको समूहले खाना पकाउने र आगो ताप्ने क्रममा आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । महाकाली र लिपुखोलाको संगम रहेको गुञ्जी दोभानभन्दा एक किलोमिटर माथि रहेको माथिल्लो कौवाक्षेत्रबाट आगो फैलिएको थियो । कौवा क्षेत्रको समथर फाँटमा रहेको सबै जंगल आगलागीबाट नष्ट भएको स्थानीयले बताए । 

मंसिर ६ गते आगलागी भएकोमा ३ दिनपछि मात्रै निभेको थियो । छाङरुबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली आगलागी भएको ठाउँमा पुगे पनि आगो निभाउन सकेको थिएन । जंगलभरि आगो फैलिएकोले नियन्त्रण गर्न नसकिएको छाङरुस्थित सशस्त्र प्रहरीको ५० नम्बर गुल्मका डिएसपी वीरसिंह धामीले बताउनुभयो । गुञ्जी दोभानतर्फको भने आगो निभाएर सुरक्षाकर्मीको टोली फर्किएको थियो। 

कालापानीतर्फको जंगलभरी आगो सल्किएपछि भारतीय सुरक्षाकर्मी र गुञ्जीक्षेत्रका स्थानीय त्रसित बनेका थिए । भारतीय प्रशासन र नागरिकहरूले कौवाक्षेत्रको आगलागी नियन्त्रण गर्न नेपाली प्रशासनलाई आग्रह गरेका थिए । माथिल्लो कौवाक्षेत्रमा फैलिएको आगलागी कालापानीस्थित भारतीय सैनिक क्याम्पसम्म पुग्ने खतरा भएपछि भारतीय पक्ष अत्तालिएको थियो। तल्लोकौवा र माथिल्लो कौवाक्षेत्रको वनक्षेत्रमा गुञ्जीका स्थानीय बासिन्दाले चलनभोग गर्दै आएका छन् ।

छाङरु गाउँका स्थानीयका लागि बुँदीदेखि छाङरुसम्मको वनक्षेत्र पर्याप्त छ । यसै क्षेत्रमा उनीहरूले सामुदायिक वन निर्माण गरेका छन् । महाकालीपारि भारततर्फ वनजंगल नभएकाले गुञ्जी, नाभी, रोङकाङ र नपलच्यु गाउँका सबै स्थानीयले कौवाक्षेत्रको वनजंगल उपभोग गर्दै आएका छन्। छाङरुका स्थानीयले कौवाक्षेत्रको वनजंगल संरक्षण तथा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको बिओपी राख्न माग गर्दै आएका छन् । तीन वर्षअघि जिल्ला सुरक्षा समितिबाट निर्णय भइसकेको छ । तर निर्णय भएर पनि काम हुन नसकेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरन जोशीले बताउनुभयो । 

कौवाक्षेत्रमा गत वर्ष पनि अज्ञात समूहबाट आगलागी गरिएको थियो । पछिल्लो समय चारपटक कौवाक्षेत्रको जंगलमा आगलागी भए पनि यसबारे नेपाल सरकार गम्भीर हुन नसकेको छाङरुका स्थानीय बताउँछन् । तत्काल कौवाक्षेत्रमा सशस्त्र प्रहरीको बिओपी स्थापना गर्नुको विकल्प नभएको स्थानीयको भनाइ छ । 

टिप्पणीहरू