चुनावताका गाडिएका पोल, केही त बोल

चुनावताका गाडिएका पोल, केही त बोल

रोल्पाको त्रिवेणी गाउँपालिका–१ शिवाङधारामा विद्युत्को पोल गाडेको १ वर्ष भए पनि अझै लाइन विस्तार गरिएको छैन । ०७९ साल मंसिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्ष्य गरेर विद्युत् विस्तार गर्ने भन्दै केही पोल  गाडिए पनि निर्वाचन सकिएसँगै विस्तारको काम ठप्प छ । 

नेकपा माओवादी केन्द्रको तर्फबाट रोल्पा प्रदेश सभा ख का दीपेन्द्रकुमार पुन मगरले आफ्नो पहलमा तत्काल विद्युत् विस्तारको काम गर्ने भने पनि हालसम्म सो गाउँमा विद्युत् पुग्न सकेको छैन । ०७४ सालको निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको साझा उम्मेदवार बनेका पुन २०७९ सालको निर्वाचनमा भने स्वतन्त्र उठेका थिए ।

कांग्रेस, माओवादी केन्द्र गठबन्धनले रोल्पा प्रदेश सभा ख मा नेपाली कांग्रेसका अमरसिंह पुनलाई टिकट दिएपछि उनी स्वतन्त्र उम्मेदवार बनेका हुन् । ०७९ साल मंसिर ४ मा सम्पन्न प्रदेश सभा निर्वाचन सँगसँगै पोल गाडिए पनि अहिले विद्युत् विस्तारको काम अलपत्र परेको स्थानीय होमबहादुर खड्काले बताए । चुनावको बेला पोल गाड्न शुरु गरिए पनि अझै १० वटा पोल अपुग भएको खड्काले बताए ।

विद्युत्को तार भने करिब १ किलोमिटर मात्रै विस्तार गरिएको छ । शिवाङधाराका लागि विद्युत्को लाइन रोल्पा नगरपालिका ६ कोजकबाट जोड्न थालिएको छ, ती दुई गाउँको दूरी करिब ४० किलोमिटर छ । अँध्यारोमा बस्न बाध्य स्थानीयले बिजुली आउने आशामा पार्टीसमेत परिवर्तन गरी करिब ४० जना कांग्रेस कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

त्रिवेणी गाउँपालिका–१ मा पर्ने शिवाङधारा गाउँ रोल्पा नगरपालिकाको सिमानामा पर्छ । बिजुलीको पर्खाइमा सो गाउँका ६० घरधुरीले अँध्यारोमा रात काट्नुपरेको छ भने मोबाइल चार्ज गर्नसमेत छिमेकी गाउँ जानुपर्ने बाध्यता  छ ।     – दयाराम डाँगी
 

टिप्पणीहरू