सस्तोमा किन बेचिस् ?

सस्तोमा किन बेचिस् ?

अहिले बजारमा फेरि नयाँ काण्ड सार्वजनिक भएको छ– एनसेलको शेयर बिक्री । पहिले जति पैसामा किनेको हो, त्योभन्दा ९० प्रतिशत कम दरमा शेयर बेचियो । यसमा के भएको हो ? सस्तोमा शेयर बेचेपछि पूरा नेपाल चकित छ ।

सरकार त झनै चकित छ । किनभने यो सरकारी नियमको खिलाफ छ । सरकारले आजसम्म नेपालमा त्यस्तो कुनै नीति नै बनाएको छैन कि कुनै वस्तु सस्तोमा बेच्न सकियोस् । यसले त सरकारलाई चुनौती दिन सक्छ ।

सरकार जे पनि महँगोमा बेच्न खोजिरहेको छ । तर एनसेलको शेयर भने सस्तोमा बिक्री हुँदैछ । यो त सरकारले बनाएको नीतिकै बर्खिलाफ भयो । त्यसैले सत्ताधारीकै सांसदहरू पनि माग गरिरहेका छन्– सस्तोमा किन बेचियो, छानबिन होस् !

महँगोमा बेचेको भए यति हल्ला हुँदैनथ्यो । किनभने महँगोमा बेच्नु त नियमै हो । त्यस्तै सरकारको नीति पनि छ । तर सस्तोमा बेच्नु त न नियम हो, न नीति । शायद सरकारी नीतिको खिलाफ गएको आरोपमा सस्तोमा बेच्नेलाई कारवाही पनि हुन सक्छ ।

यो त यस्तो देश हो, जहाँ महँगोमा बेचे कसैले केही भन्दैन । सरकारले त झनै भन्दैन । संसदमा चर्चा पनि हुँदैन । तर एक पटक सस्तोमा के बेच्यो, चर्चा हेर्नोस् त ! बा बा बा .....

टिप्पणीहरू