इजरायलमा सर्वसाधारण पठाउँदै आएको गिरोह पुनः सक्रिय

इजरायलमा सर्वसाधारण पठाउँदै आएको गिरोह पुनः सक्रिय

वैदेशिक रोजगार विभागले इजरायलमा रोजगारीको प्रलोभन देखाई ठगी गर्ने गिरोह सक्रिय रहेको जनाउँदै सचेतका लागि आग्रह गरेको छ । 

इजरायलको कृषि क्षेत्रमा नेपाली श्रमिकहरु लैजाने सम्बन्धमा नेपाल सरकार र इजरायल सरकारबीच छलफल भएपनि कुनै निर्णय नभएको उल्लेख गर्दै विभागले सर्वसाधारणलाई सचेतना अपनाउन सुझाएको हो ।

विभागले श्रम सम्झौताबमोजिम इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा मात्र नेपालबाट सहायक कामदारहरु पठाउँदै आएको उल्लेख गर्दै कृषि क्षेत्रको ‘लर्न एण्ड अर्न’ कार्यक्रम तथा अन्य क्षेत्रको नाममा हुने ठगीबाट सचेत रहन भनेको छ । 

‘इजरायलका विभिन्न क्षेत्रमा रोजगारीको प्रलोभन देखाई विभिन्न व्यक्ति तथा समूहहरुले गैरकानूनी रुपमा प्रलोभनमा पारी रकम उठाउने गरेको सूचना यस विभागमा प्राप्त भएकाले कृषि क्षेत्रको लर्न एण्ड अर्न कार्यक्रम तथा अन्य क्षेत्रको नाममा हुनसक्ने ठगीबाट सचेत रहन विभाग अनुरोध गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।

यस किसिमका ठगीका सम्बन्धमा विभागले सूक्ष्म अनुसन्धान कार्य अघि बढाएको जनाउँदै त्यस्ता भ्रमपूर्ण कार्यमा संलग्न नहुन अनुरोध गरिएको छ ।

टिप्पणीहरू