यसकारण धमाधम सरकारी जागिर छाड्दै

यसकारण धमाधम सरकारी जागिर छाड्दै

नेपाली समाजमा पछिल्लो समय सरकारी जागिरको ‘क्रेज’ बढेको छ । सरकारी सेवामा प्रवेश गर्ने बितिक्कै ‘लाइफ सेटल’ हुने मान्यता गहिरो हुँदै गएको छ । प्राइभेट कम्पनीमाझैँ जागिरको अनिश्चितता नरहेकाले सरकारी जागिरतर्फ आकर्षण बढेको हो । त्यसैले सरकारी जागिरमा युवाहरुको आकर्षण बढ्दो छ । 

पछिल्लो समय नेपाली अभिभावकले आफना छोरी चेलीलाई सरकारी जागिरे वर खोज्ने गरेका छन् । तर, केही समययता सरकारी जागिर छोड्नेको लर्को लागेको छ । लोकसेवा आयोगको परीक्षाको लामो प्रक्रिया पूरा गरेर बल्लतल्ल सरकारी सेवामा प्रवेश गरेकाले पनि धमाधम राजीनामा दिइरहेका छन् । 

निजामती, सुरक्षा निकाय, शिक्षा र स्वास्थ्य क्षेत्रमा कार्यरत तल्ला तहका कर्मचारीले जागिरबाट राजीनामा दिन थालेको देखिन्छ । अन्यत्रको तुलनामा न्यून तलब र सेवासुविधाका कारण जीवन निर्वाह गर्न गाह्रो परेपछि राजीनामा दिनेहरुको लर्को लागेको बताइन्छ । 

तेह्रथुमको फेदाप गाउँपालिका–१, सिम्लेस्थित श्री जनता आधारभूत विद्यालयमा कार्यरत शिक्षक कुबिर लिम्बुले गत मंसिर २१ गते शिक्षा विकास तथा समन्वय इकाईमा राजीनामा पत्र बुझाए । शिक्षक सेवा आयोगबाट प्राथमिक तहको खुल्ला प्रतियोगितात्मक परीक्षा उत्तीर्ण गरेर गत चैत १५ गतेदेखि स्थायी नियुक्ति पाएका उनले अरु नै पेशा अपनाउने भन्दै जागिर छाडेका हुन् । 

‘श्री जनता आधारभूत विद्यालय, फेदाप १ सिम्ले, तेह्रथुममा प्रा.वी तृतीय श्रेणीमा कार्यरत शिक्षक म कुबिर लिम्बु अरु नै पेशा अपनाउने भई मेरो व्यक्तिगत कारणले शिक्षक पेशा छोड्नुपर्ने भएकोले आज मिति २०८०–८–२१ गतेदेखि लागु हुनेगरी राजीनामा स्वीकृत गरिदिनुहुन श्रीमानसमक्ष यो राजीनामा पत्र पेश गर्दछु’, पत्रमा उल्लेख छ । 

वैदेशिक रोजगारीका निम्ति कोरिया जान लागेकाले उनले राजीनामा दिएका हुन् । सरकारी जागिरले घर धान्न समस्या भएपछि जागिर छोडेर विदेश जाने कर्मचारीहरुको संख्या बढेको छ । शिक्षकहरु सेवासुविधा बढाउन माग गर्दै यसअघि सडकमा समेत आएका थिए । 

यता, स्वास्थ्य सेवातर्फ पनि निकै श्रम शोषण हुने गरेको बताइन्छ । तल्लो तहका कर्मचारीको तलबस्केल अरुको तुलनामा निकै कम छ । सोही कारण उनीहरु पनि विदेश भासिएका हुन् । सुरक्षा निकायका कर्मचारीलाई पनि एक्लो जागिरले परिवार पाल्न मुश्किल हुँदै गएको छ । पहिले युवाहरुको आकर्षण रहेको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनामा जागिर छाड्ने ह्वात्तै बढेका छन् । 

सकी–नसकी प्रवेश गरेको जागिर छोड्नेमध्ये अधिकांश वैदेशिक रोजगारीमा पुगेका छन् । केहीले स्वदेशमै सानातिना व्यवसाय सञ्चालन गरेको पाइन्छ । राजीनामा दिँदा घरायसी र व्यक्तिगत कारण देखाइए पनि असली कारण कम सेवासुविधा भएको स्रोत बताउँछ । 

श्रमअनुसार सेवासुविधा नभएकाले बीचमै जागिर छाड्ने गरिएको स्रोतको दाबी  छ । स्रोतले भन्यो, ‘पहिले जागिर खानका लागि मरिहत्ते गर्छन् । तर, कम सेवासुविधा र तलबका कारण उनीहरु नयाँ अवसरको खोजीतिर लाग्छन् । बढी तलब र सेवासुविधा पाउनेबित्तिकै जागिर छोडिदिन्छन् ।’

टिप्पणीहरू