तराईका हाकिम दिनदिनै अर्कै आउँदैछन्

तराईका हाकिम दिनदिनै अर्कै आउँदैछन्

सामान्य प्रशासन मन्त्रालयका कारण रौतहटका स्थानीय तहमा कार्यालय प्रमुखहरू दिनै फेरबदल हुन थालेका छन् । अधिकांश निमित्तका भरमा चलेका स्थानीय तहमा जानका लागि जनमत पार्टीका स्थानीय तथा केन्द्रीय नेतालाई नजराना बुझाउनुपर्ने बताइएको छ ।

त्यसरी आउनेहरूलाई स्थानीय तहले हाजिर नगराएपछि समस्या उत्पन्न भएको छ । समाचार स्रोतका अनुसार जनमतका नेता तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारीको सेटिङमा ३ देखि ५ लाखसम्म बुझाएर निमित्तको पत्र बोकी आउनेहरूको बिजोगसमेत भएको छ । यतिखेर जिल्लाको गढिमाई नगरपालिका, वृन्दावन नगरपालिका, फतुवा विजयपुर नगरपालिका र यमुनामाई गाउँपालिकामा मन्त्रालयका पत्रको कारण समस्या श्रृजना भएको छ ।

वृन्दावनमा मन्त्रालयले पठाएका उपसचिव सुरेन्द्र प्रधानलाई हाजिर गर्न दिइएन । मेयर विनोदप्रसाद कुर्मीले स्वास्थ्य शाखा प्रमुख रास नारायण पटेलबाहेक अरुलाई हाजिर गर्न नदिने अडान लिएपछि यतिबेला सो नगरपालिका कार्यालय प्रमुख विहिनको अवस्थामा रहेको छ । त्यस्तै गढिमाई नगरपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवलाई हटाएर मन्त्रालयले श्रीदेव यादवलाई पठाएको छ । लामो समयदेखि फतुवा विजयपुर नगरपालिकाको निमित्त रहेका शम्भु यादवलाई हटाएर मन्त्रालयले सुरेन्द्र प्रधानलाई पठाएपछि नेपाली कांग्रेसबाट जितेका जनप्रतिनिधिहरू विरुद्धमा छन् । सो पालिकामा आर्थिक वर्षको आधा अवधि सकिँदासमेत नगर सभा हुन सकेको छैन । केही दिन अघि मात्र यमुनामाई आएका शाखा अधिकृतलाई हाजिर नगराई फिर्ता पठाइएको छ ।

मन्त्रालयबाट मंसिर २२ गते चं. नं ११९६ को पत्रबमोजिम प्रमुख प्रशासकीय अधिकृतको रुपमा कर्मचारी संकेत नं. १९४९३३ का ओमप्रकाश यादवलाई काम काजका लागि खटाइएको थियो । सो पालिकामा करिब १५ दिनअघि मात्र गाउँपालिका प्रमुख आफैले स्वास्थ्य शाखाका रामश्रेष्ठ राय यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएर ल्याएका थिए । रौतहटका १८ स्थानीय तहमध्ये ३ वटा नगरपालिकाबाहेक अन्यमा निमित्त प्रमुख प्रशासकीय अधिकृत छन् । 

टिप्पणीहरू